शहरको रहरमा उन्मत्त नहोउ सोल्टीनी,
तिम्रा संगिनीहरु रत्नपार्कको घुर्मैलो साँझमा
एक-एक आनामा जिन्दगीहरु तौलिरहेछन्।
त्यसैले,
शहरको सुकिलो कल्पना नबुन सोल्टीनी,
तारे होटलहरुमा तिमी सजिएको म हेर्न सक्दिन
गलैँचासँगै तिम्रो अस्मिता निर्यात भएको म सुन्न सक्दिन।
असनका चिसा गल्लीहरुमा एक मुठ्ठी घामको प्रतिक्षा गरेको बर्सौं बितिसक्यो
शहर तिम्रा पसिनाहरुलाई निचोरेर सडकमा पर्खालहरु ठड्याइरहेछ,
यहाँ मान्छेका जस्तै वेवारिसे कुकुरका लाशहरु यत्रतत्र छरिएका हुन्छन्,
किनकी,
स्वयंभूका न्यायिक आँखाहरु लथालिङ्ग कंक्रिटका जंगलहरुलाई छिचोल्न असमर्थ भइसके।
मलाई त लाग्छ,
तिम्रो सखुवाको लिस्नो बिशाल बजारको लिफ्ट जस्तो लोफर छैन,
तिम्रा चप्लेटीहरुमा न्यानो घाम अंजुलीभरि अंगाल्न सकिन्छ,
अरुणका लमतन्न झोलुङे पुलहरुमा पाईतालाभरि तिम्रो अस्थित्व उभिएको छ,
ट्याम्केको चिसो हावा तिमिभरि सन्जिवनी सल्बलाइरहन्छ।
कम्तिमा,
तिम्रो पवित्रतामाथि कसैले धावा बोल्ने छैन,
तिम्रो लाशले श्रध्दापुर्बक कोशीको किनारमा जल्न पाउनेछ।
त्यसैले,
शहरको रमझम सपना नकोर सोल्टीनी,
यहाँ झ्याप्प बत्ती निभ्छ,
र तिमिले,
फाटेको जीवन हैन फाटेको पछ्यौरी रोज्नुपर्छ।
Sunday, August 19, 2007
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment