Thursday, September 27, 2007

यात्रामा तिमि...

खन्ड १:
मंसिरको महिना थियो - मिठो घामले मन चन्चल बनिरहने। म सेतो घोडामा थिएँ, तिमि कालो मा। रातो सारी र सबैथोक रातो - अथाह सुन्दर र मनमोहक, घुम्टो भित्रै सुँक्क सुँक्क गरिरहेकि। धेरै मानिसहरु (जन्ति) अगाडि पछाडि लागेका, सिद्धकाली डाँडाबाट तल झरिरहेको।
पुष लाग्यो। दिनहरु छोटा भैसके र चिसो काफि बढिसकेको छ। विहान बाहिर कठांग्रिने जाडो छ। न्यानो अँगालोलाई छाडेर तिमि उठ्न विवस् थियौ।
"मलाई पंधेरो सम्म साथि गैदिनुस् न - अंधेरो छ, डर लाग्छ।"
म पनि उठेँ। घर पछाडिको पंधेरोमा मुख धुइरहदा औँलाहरु जम्लान झैं थिए। फर्किएर तिमिले आगो जोरेउ र दैलानो पोत्न लाग्यौ। म खोले पकाइरहेथे। दाजुले दुध दुएर ल्यउनु भयो। मैले चिया पकाइसक्दा तिमि भन्दै थियौ-"खाँदै गर्नुस् है, मैले भ्याएको छैन"
म भन्दै थिए - "तिमि त्याहा जाडोमा काम गरिर'छौ, म चाहिं खाइरहनु?"

फेरि माघ लाग्यो। विहानै कोदाको ढिंडो र दुध खाएर हामी दाउरा खोज्न निस्कियौं। पटुकामा मकै भटमास् र सुठुनी राखेर - खाजालाई। सेरा खोला पारी दामाको भिरमा पुग्दा नौ बजिसकेथ्यो। दाजु भिरका रुखहरुमा चडेर सुकेका हाँगा झारिरहनु भएथ्यो। म बटुली रहेथें। तिमि काउसो छल्दै काँडाघारीबाट स-साना सुकेका मुडाहरु तानिरहेथ्यौ। तर ध्यान मतिरै थियो तिम्रो - "धेरै भिर तिर नजानुस् है।" एक बज्न लाग्दा टुप्पीको चौतारोमा मैले कुर्सिंग भारि बिसाएथें - तिम्रो डोको संगै र एकैछिनलाई सुसेली हाल्दै थकाई मारेथ्यौं -

आलुदम चाना
लाई राखौं मायाँ नि लै लै
लामो सम्झना।

फागुनमा एकझर पानी पर्यो। दाजुले तल्लो टाहारमा बाझो फुटाइसक्नु भयो। डल्ला फुटाउंदा फुटाउंदै तिमि एक्कासी चिच्यायौ। कोदालोको पासोले खुट्टाको बुढी औँठो फोरिछौ। म बनमारा माडेर लगाइदिरहेथें।
"कत्तिवेर लगाएको भन्या, कस्तो दुखिसक्यो।"
"दुख पाइस मंगले, आफ्नै ढंगले। अलिक आँखा हेरेर पो काम गर्नु पर्छ"

मकै छर्ने वेला हुन लाग्यो। चैतको नि १० गते भैसकेछ। "ए बुढा, मल नबोक्ने कि कसो यसपाली।" तिमि छेडछडमा थियौ। "विहे गरेपछि पनि सबथोक आफैंले गर्नु पर्ने?"
अनि भैसी गोठको १५-१५ भारी मल बोक्दा डवली गरो भरिन लागेथ्यो।
"अलिक पातलो हालान राम पियारी, पछि पुग्दैन फेरि।"
"मलाई के थाहा पुग्छ कि पुग्दैन - हजुरको वारी।"
"कस्को वारी रे?" मैले तिम्रो दुबै कानमा समाएर सुस्तरी निधारमा चुमिदिदा रातो गाला पारिरहेथ्यौ -
"कस्तो छिल्लिएको होला - मान्छेले देखे भने।"

बैशाख जेठ पनि गयो। असार लाग्यो। मकै लह लह भैसके। पानी पनि परिरहेछ। आज रोपाईं। म वाउसे - तिमि रोपाहार। अरु पनि धेरै छन्। हिलो छ्यापा छ्याप - खुब रमाइलो छ। कामचोर बाहुसेहरु देखेर तिम्रो कन्सिरि तातेछ -
"गफ मात्रै गर्ने - वाउसे गरेको गति चाहिं सप्पै खाल्डै खाल्डा।"
"रोपाहार धेरै भएछन् - सप्पै छोपिसके - के गर्ने त" - म बाहाना बनाइरहेथें।

भदौको अन्तिमतिर होला - गैरी खेतमा धान गोडीरहेथ्यौं - सिम सिम सिम सिम पानिसंगै - घुम ओडेर। धानको पातले कस्तो नमाज्जा संग मेरो देब्रे आँखा पाछ्यो।
"मलाई मात्रै भन्नु हुन्छ - आफैं बेहोसी हुनुहुन्छ। छिट्टो घर हिड्नुस् - सेक्नु पर्छ।"
अनि फटाफट घर गएर सेतो टालोमा तातो भातको डल्लो राखेर मेरो देब्रे आँखा सेकिदिरहेथ्यौ।

असोज लाग्यो। आज दशैंको टीका। तिम्रो विहानै देखि फुर्ति नै बेग्लै छ - वर्षीको पोथ्रो नाघ्ने दिन। बुवाले सबैलाई टीका र जमरा लगाइदिनु भयो। मैले पनि तिमिलाई टीका लगाइदिएँ-
"आयु द्रोण सुते श्रीयम् च दशरथे सत्रु क्षय राघवेऐश्वोर्य लहुसे गतिस्च पवने मानम् च दुर्योधनेसुर्यो शान्ती वलम् च हलधरे शक्ति च कुन्ती सुतेसज्ञानी विदुरे भव ती भवतम् कृतिस् च नरायणे
जयन्ती मङलकाली भद्रकाली कपालिनिनवदुर्गाक्ष नमो नम।"

कति हतारो तिमिलाइ उकालो लाग्न! म भन्दा अगाडि अगाडि पिपलडाँडा पुगेर गाइरहेथ्यौ -
"मैले के गरौंतिमि आऊँछौ किअर्कै बे गरौं।"
"गर्ने लाई कस्ले छेकेको छ र - तर मेरै अगाडि रुएको चाहिं यो आँखाले देख्न नपरोस्।"
म आइपुग्नासाथ तिमि उठिहालेउ। मैले दाहिने हात समाएर तानें र सल्लघारीको चिसो सुसाइमा एक्छिन् थाकाइ मार्दै म देखाइरहेथें-"उ तेहिं हैन पुग्नु पर्ने। भन्ज्यांग भएर कि सोझै जाने हो - आधा घन्टा मा त पुगिहालिन्छ नि - के को हतार!"

कार्तिक महिना हो। धान पाक्न लागिसक्यो। पहिला खर नै काट्नु छ। विहानै मेलाम पस्यौं।"कुरै कुरो छ यता त" - तिमि दिक्क मन्दै थियौ।मैले मेरो मेलो तिमिलाई दिएर तिम्रो मैले लिएँ।"यता पनि कुरो र'छ" - तिमिलाइ मेरो मेलो पनि अप्ठ्यारै लाग्यो।"काफ्ले जाउ - कुरो छैन" - म रिसाएझैं गरें। काफ्ले तिम्रो माइति गाउँ, तिम्रो पारो तात्ने नै भो - "काफ्ले ले हजुरको के नै बिगारेको छ र?"
"जिस्काएको नि नबुझ्ने मेरी लाटी बुढि!", फकाउन कति गारो हुन्थ्यो तिमिलाई।

पुन: मंसिर लाग्यो। जाडो खुव रमाइलो हुन्छ। सबै खेतहरुमा कुन्यु बनिसके। आजा डुंड खेतमा दाईँ गर्ने दिन। बिहान निद्रामै हुंदा मधुर आवाज आयो -
"ए कान्छा, उड बाबु। पुगेर कुखुरो भुत्ल्याउनु पर्छ। पराल छिरोल्ने मान्छे नि कम छन्।"
मेरि प्यारी आमाको कोमल स्वरले कता कता निद्रा पातलिएछ क्यारे। सायद कोल्टे फेरें हुंला - AIT Student Village 12 A 1 मा।

क्रमस्...

सुर् न ताल्।

No comments: