Tuesday, August 28, 2007

दशैँ र गाऊँका स्म्रितीहरु।

तल्लो टाहारमा अनौ समाउदा,
मेरो दाई सम्झनुहुँदो हो,
मैले हालेका बिऊहरु!

अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा,
मेरी बहिनी सम्झँदि हुन्,
मैले पोलेका सुठुनीहरु!

घरपछाडिको तामा फब्ल्याटाऊदा,
मेरो बुबा सम्झ्नु हुँदो हो,
मैले काडेका चोयाहरु!

सकिनसकी ढिँडो मस्काऊदा,
मेरी आमा सम्झँदि हुन्,
मैले कोरेका कुँडेहरु!

असरल्ल स्म्रितिका घ्याम्पाहरु,
म कुन चाहिं पहिला फोडौं,
कुन् चहिं पछि?

मेरो रातमाटे उस्तै रातो होला,
म पहेँल्ली सकेँ;
मेरो चिसापानी उस्तै चिसो होला,
म सुख्खा भइसकेँ।

मेरो केराघारी,
घरीका घरी उपहारहरु बोकेर
मेरो प्रतिक्ष्या गर्दो हो;
मेरो आरुवारी,
लटरम्म कोसेलीहरु बोकेर
मेरो बाटो हेर्दो हो।

भाग्यको पखावारीमा
कर्मको तुईन तान्दा तान्दा,
म त बेफुर्स्दी बनेछु।

न ढिंडो, न गुन्द्रुक्,
न ढोड, न हुर्हुरे;
न मकैको बिऊ,
न हाँडीको घान्;
न चित्राको चोया,
न छारीको फरिको।

म त अल्मलिएछु,
कन्क्रिट्का जंगलहरुमा;
तथाकथित् पुस्तकहरुसंग,
संग्धिग्न सपनाहरुसंग।

छ्यास्छ्यास्ती काँडाहरु बिझेका छन्,
सुँगुरेका;
तनभरि - मनभरि,
गाऊँ छोड्दाका।

मेरो सानो घर, मेरो सानो सन्सार,
मेरी प्यारी आमा, दाजु, बहिनि, वावा।

त्यो चुलो - त्यो पँधेरी,
त्यो गोरेटो - त्यो अँधेरी;
त्यो ओदान् - त्यो चुलेसी,
त्यो आँगन् - त्यो वलेसी;
त्यो दलान् - त्यो सँघार्,
त्यो मतान् - त्यो जँघार्।

त्यो गोठ, मेरो सिन्धुरे गोरु,
त्यो खोर, मेरो घोर्ले खसी;
पारी डुँडको खेत,मैले लगाएका आलीहरु;
चिलाउनेको हलो,मैले ठोकेका फालीहरु।

अवत असह्य भयो;
म अरु सक्दिन
मेरा अस्थित्वहरुलाई उसिनिरहन।

असुरोको पातमा केराको घरी पकाउँदै गरे आमा,
हाटमा आएको रोज्जा चाहिँ खसी किनिराखे वावा।

मेरो लट्टाईमा धागो र माड लगाईदिराखे दाजु,
मेरो मादलमा असली खोरी हालिदिराखे दाजु।

मेरो खाट्मा दिङ्लाको राडी ओछ्याइदिराखे बहिनि,
मेरो ठेकीमा एकराते दहि जमाईदिराखे भाउजु।

सारा अप्ठ्याराहरुलाई पाईतालाले कुल्चेर,
तपाईँहरुको प्यारो सनोकान्छो,
यसपाली त फुत्त फुत्त उफ्रदै हुनेछ,
पाख्रिवासको ओरालोमा;
दशैँको टीका, जमरा र आसीश थाप्न।

Thursday, August 23, 2007

मायाँजाल

***********************************
कल्कल केश राशी, जुन पुर्णिमाको झैँ चेहरा;
मन् चन्चल भो यो, जसै के मुस्कायौ एकफेरा।

*******
हास्छौ जव तिमी त्यो, राम्रो कति खोपिल्टो गालाको;
अरु छ केर दिउँ, लेऊ कोसेली प्रेम मालाको।

*******
कटि वारुली कस्तो, कोमल कति औंला हातका;
मन लोभियो यति, खसाउँ कि ती तारा रातका।

*******
आँखा म्रिगका झैँ ती, बिरालोको झैँ लचक चाल;
फसेँ कसरी म लौ, नफाट्ने किन त्यो मायाँजाल।
***********************************

Sunday, August 19, 2007

गाउँकी सोल्टीनीलाई सन्देश्

शहरको रहरमा उन्मत्त नहोउ सोल्टीनी,
तिम्रा संगिनीहरु रत्नपार्कको घुर्मैलो साँझमा
एक-एक आनामा जिन्दगीहरु तौलिरहेछन्।

त्यसैले,
शहरको सुकिलो कल्पना नबुन सोल्टीनी,
तारे होटलहरुमा तिमी सजिएको म हेर्न सक्दिन
गलैँचासँगै तिम्रो अस्मिता निर्यात भएको म सुन्न सक्दिन।

असनका चिसा गल्लीहरुमा एक मुठ्ठी घामको प्रतिक्षा गरेको बर्सौं बितिसक्यो
शहर तिम्रा पसिनाहरुलाई निचोरेर सडकमा पर्खालहरु ठड्याइरहेछ,
यहाँ मान्छेका जस्तै वेवारिसे कुकुरका लाशहरु यत्रतत्र छरिएका हुन्छन्,
किनकी,
स्वयंभूका न्यायिक आँखाहरु लथालिङ्ग कंक्रिटका जंगलहरुलाई छिचोल्न असमर्थ भइसके।

मलाई त लाग्छ,
तिम्रो सखुवाको लिस्नो बिशाल बजारको लिफ्ट जस्तो लोफर छैन,
तिम्रा चप्लेटीहरुमा न्यानो घाम अंजुलीभरि अंगाल्न सकिन्छ,
अरुणका लमतन्न झोलुङे पुलहरुमा पाईतालाभरि तिम्रो अस्थित्व उभिएको छ,
ट्याम्केको चिसो हावा तिमिभरि सन्जिवनी सल्बलाइरहन्छ।

कम्तिमा,
तिम्रो पवित्रतामाथि कसैले धावा बोल्ने छैन,
तिम्रो लाशले श्रध्दापुर्बक कोशीको किनारमा जल्न पाउनेछ।

त्यसैले,
शहरको रमझम सपना नकोर सोल्टीनी,
यहाँ झ्याप्प बत्ती निभ्छ,
र तिमिले,
फाटेको जीवन हैन फाटेको पछ्यौरी रोज्नुपर्छ।

Friday, August 17, 2007

विवाह र Criteria:

6th June, 2004.

आफैँले आफैँ सँग लिएको घर जाने अनुमतिले दिनभर उल्लासित् भइरहेँ। बिहान छिट्टै उठें, कपाल् काटें, नुहाई धुवाई गरें, जनै फेरें - फेरें त के भनौं - लाएँ - पहिलाको फ्यालेको त कहिले हो कहिले यादै छैन। १ बजे नेपाली समाजको meeting थियो, त्यस्पछि एकछिन् Lab बसें। ४ बजे Vietnamee हरु सङ फुट्बल् थियो। ३ गोल खाएपछि निस्किएर Airport तिर लागें। मलाई १० जना जती नेपालीको training team लाई receive गरेर Institute को होटेल सम्म पुर्याउनु थियो। पछि हतार हतार Lab पुगें। चुच्ची आएकी छैनन्। गाली गर्दै स्नाक्स् वार् गएँ। सधैको जस्तै दाल्, भात् र रामतोरियाँ को लेदो तरकारी खानलाई ५ मिनेट पनि लागेन। पुन: Lab तिर दौडिएँ। ९ बजीसक्यो, उनी अझै आएकि हैनन्। अब आउन्नन् कि झैँ लागिरहेथ्यो, उनि झुल्किइन् र अर्को २ घन्टा रमाइलो कुराकनी मा हामी हरायौं। मैले उनलाई Hints दिएँ - म आउँदै छु भनेर। उनले बुझिनन्। म Surprise दिन चाहन्छु - बस्।

---------------------------------------------------------------------
मेरो College को एकदम् मिल्ने साथी पनि छ, CHAT ROOM मा। मैले उस्लाई सधै जस्तो जिस्क्याएँ, प्रिया को एउटा साथी को नाम् लिएर। उसले अन्तत: सुइकार् गर्यो, CHAT गर्नको लागी र भन्यो- "Do not take it as a step towards affair and marriage".

मैले भनें - You must have dozens of girls in your contact list, are you gonna marry all of them? अनी हामी हस्यौं - Virtual सन्सारमा।

---------------------------------------------------------------------
धेरै कुरा भयो।
मैले उस्लाई भने - "बिहे गर्ने केटी को बारेमा केहि न्युनतम खाका तयार गरन!"
उस्ले भयो- "मान्छे को पनि मालसामानको जस्तो Specification कसरी बनाउनु?"
मैले ठिकै छ नि त भनेर कुरा मोडें। बिस्तारै उस्ले कस्तो खालको केटी संग उ विबाह गर्न चाहन्छ भनेर बतायो।

मैले अन्तत: एउटा List उस्लाई पठएँ।
"Even if you do not agree, we prepared a minimal criteria for selection:
One with college degree, not at least SLCs
Preferably with some technical skills
No mention about profession
With similar financial status
With similar cultural background
Of course good looking, even if you have not quoted."

उ हाँस्यो, मज्जाले र भन्यो, "तिमि बुढा"।
मैले भने - "उनी मेरो बिचार् मा यो criteria मज्जाले pass गर्छिन्।"

---------------------------------------------------------------------
Love Marriage को त मलाई तेत्ती Idea भएन। तर जवसम्म Arranged Marriage को सवाल् छ आखीर् विवाह:

- हुनु अघिको एउटा मोल्-मोलाई वा नाप-जोख नै हो -

तर तेस्तो मोल्-मोलाई जसमा सिन्दुरको एक् धर्सो पछि कुनै नाफा घाटा को एउटा कण पनि बाँकी हुन्न।

अस्तु!

Tuesday, August 14, 2007

भिन्नताहरु

Dec 8, 2003: SV12A, AIT, Bangkok

"Old Town" नामको Bangkok स्थित् एउटा Restaurant मा Europian Formula मा बनेको नाम नखुलेको पेय पदार्थको CO2 डकार्दै Thai युवतीको अङ्रेजि स्वरमा सुर् न ताल संग उफ्रिरहंदा बिहान गाउँमा भाले बासिसकेको हुंदो हो र मेरि आमा सकि नसकी दोइलो खोलेर आगो जोरिरहेकि हुंदिहुन। हो तेतीनै खेर मेरि प्रिया कैयौं पटक आंखा मिच्दै र झकाउंदै कुन बिरामिको Bottled Blood सकिन लाग्यो भनेर हेरचाह गरिरहेकि हुंदिहुन - Kathmandu को चीसो रातमा। काति अतुलनिय भिन्नताहरु गुज्रिरहेछन - म, मेरी आमा र मेरी उनि बिच। Bangkok रात र दिनहरुमा भिन्नता राख्दैन। व्यक्ति पिच्छे दिन र रातका परिभाषाहरु फरक छन्। यो रातभरि जागा रहन्छ - झिलिमिलि बत्तिहरुमा र ब्यस्त सडकका गाडिहरुमा। मेरो गाउँ शान्त निद्रामा सुतिरहन्छ, प्रत्यक सांझहरुमा र भालेको डांको संगै ब्युँझिन्छ - अंगेनाहरुमा, दैलानोहरुमा, आँगन-दलान, धारा-पँधेरा र बस्तु गोठहरुमा। काठमान्डौ अलि ढिलो सम्म सुस्ताउंछ - गल्ड्याङ् गुल्डुङ् उज्यालाहरुमा। कहिं कहिं Late Night सम्म सलबलाउंछ - DISKO र जुवाघरहरुमा। र विहान छ्यासमिस ब्युँझन्छ - कहीं विहानी बिध्यालयहरुमा, कहीं दिवा कार्यलयहरुमा। मानौं काठमान्दौ मेरो गाउँ र Bangkok बिच को लिस्नु हो: एउटा Transit; सरल, शान्त, स्फुर्त र एक्नास जिवन अनि गडगडाहट, मात्तिएको र व्यस्त Bangkok शहर बिचको। म चाहन्छु - यी सब परिवर्तनहरुलाई मेटाउँ र तेहि तल्लो गराको सुन्तला सांधेर घरमाथिको चौरमा सुकुलभरि जिब्रो फट्कारेर मंसिरको मीठो घाम तापिरहुं - जहां मेरि आमा मेरो कपालको चम्कना मारिरहेकि हुन - मेरि सहेलि पिंडालु उसिनेर नुन खोर्सानी पिनिरहेकि हुन्।

Sunday, August 12, 2007

मलाई तिमी चाहिन्छ

जिवन यात्रा का सयकडौँ मोडहरु, विकट उकालि ओरालिहरु अनि सितल भन्ज्याङ् अनि चौतरीहरु छिचोल्दै जाँद म एउटा नयाँ परिबेस पाइरहेछु - मेरा पाइतालाहरुलाई। म भन्न सक्दिन बर्तमानमा गुज्रिरहेका यी पलहरु सरस छन् वा निरस। यत्ती भन्न सकिन्छ - दैनिकिहरु परिबर्तन् भएका छन्। त्यो रिठ्ठाबोटे - वरबोटे भन्दा धेरै पर; त्यो गैरीगाउँ - डाडागाउँ भन्दा धेरै पर; त्यो चिसापनी - रातमाटे भन्दा धेरै पर; त्यो सल्लाघरी-रानीवन भन्दा धेरै पर; त्यो पुर्बैया-लक्षमणा भन्दा धेरै पर; त्यो भारदह-बांसगढी भन्दा धेरै पर; त्यो नयाँ बजार - पुरानो बजार भन्दा धेरै पर; त्यो पुल्चोक-महेन्द्रचोक-भानुचोक-प्रिथ्वीचोक भन्दा धेरै पर; त्यो पशुपती र गुहेश्वरी का अशिर्बादहरु भन्दा धेरै पर; त्यो बगेश्वरी - बिन्दवसिनी - बुल्बुलेमाही-दन्तकालीका सामिप्यताहरु भन्दा धेरै पर; त्यो मनकामना - स्वर्गद्वारी - गोसाईकुन्ड र मुक्तिनाथका सितलताहरु भन्दा धेरै पर; त्यो तमोर् र तिनाउका सुशेलीहरु भन्दा धेरै पर; त्यो मकालु र मनास्लुका सितल छहारीहरु भन्दा धेरै पर; त्यो जुगल र गौरिसङ्करका मनमोहकता भन्दा धेरै पर; आफ्नो गाउँ, आफ्नो सहर, आफ्नो देश, आफ्नो माटो, र आफ्नी आमा भन्दा धेरै पर। नयाँ ठाउँ, नयाँ माटो, नयाँ रहनसहन, नयाँ परिवेश, नयाँ संस्क्रिति, नौला मान्छेहरु, नयाँ संसर्ग; जिवन शैली फेरिएको छ। फेरिपनि, मलाई McDonald's र Tomyam मात्रले हुँदैन - ढिंडो र गुन्द्रुक् चाहिन्छ, फुरौला र घुमाउरे रोटी चाहिन्छ; Old Man and the Sea मात्रले हुँदैन - 'षिरिषको फुल' र 'तीन घुम्ती' चाहिन्छ; Hotel California मात्रले हुँदैन - 'हरियो डाँडा माथि हलो जोत्ने साथी' र 'वारि जमुना पारी जमुना' चाहिन्छ; Drum Set ra Piano मात्रले हुँदैन- मुर्चुङा, मादल र खैंजेडुका धुनहरु चाहिन्छ; टुटेफुटेका Hi-Hello मात्रले हुँदैन - - नेपाली सौहर्दता चाहिन्छ, अपनत्व चाहिन्छ, सामिप्यता चाहिन्छ, आत्मियता चाहिन्छ, हार्दिकता चाहिन्छ, नेपालित्व चाहिन्छ, अस्थित्व चाहिन्छ।

तेसैले: मलाई तिमी चाहिन्छ।

Saturday, August 11, 2007

TRANSIT DOHA

TRANSIT DOHA, Aug 13, 2005

सानो मुस्लिम् राज्य कतारको राजधानी सहर दोहामा स्थनिय समए ११:२० बजेको छ - रातिको। उहाँ काठमान्डुमा भोलि भैसक्यो - जो २ घन्टा ४५ मिनेट छिटो छ यहाँ भन्दा। QR ३५३ ले ४ घन्टा अन्धकारहरु छिचोलोरह्यो र यो बत्तीहरुको उज्यलोमा मध्यरात लियेर आयो - कचल्टिएक नयनहरु र भारी मन। अघिनै ६:३० बजेको हुंदो हो - काठ्मान्डु को त्रिभुवन् अन्तरस्ट्रिय बिमानस्थलमा बिदाको क्ष्यण मेरी प्यारी आमा र मेरी प्यारी उनी दुबै अत्यन्त पीडाले घायल मलिन अनुहार लिएर विवस फर्कनु भएथ्यो र म बोझिला पाइलाहरु A ३०० बिमान् तर्फ बडाईरहेथें। भबिस्य निर्माणको एउटा अत्रिप्त अभिलशाले जिवनलाई सदैब बेखुशीनै बनाईरहेछ। ती सबैको अधिकतम सीमा आज कोरियो - PhD का लागि USA। सन्सारको त्यो पल्लोछेउ हो जहाँबाट मेरो अफ्नो सन्सारमा आउ-जाउ धेरै किसिमले कठिनतम् छ र त्यसैले यो यत्रा पनि कठिनतम् छ। अनिस्चित दिनहरु - जो आइरहेक छन - ले मर्माहत पारेको छ। मेरी उनी एउटा अभिलाशामा आफुलाई एक्लो स्विकार गरिरहेछिन - प्रायस सदैब - बिवाह पछि। म अधिकतम् उल्लु हुँ - कि सदैब उनलाई एक्लो बनाएर आफु अझ बधि एक्लो बनिरहेको छु। यदी दिनहरु सोचे बिपरित भैदिए भने फेरि कहिले हो अर्को भेट भन्न गारो हुनेछ र जिवनमा त्यो एउता अतुलनिय सजाय हुनेछ। बुढो बुबा सदैब जस्तै एउटा खाट कुर्न बिवस भैसक्नु भएको छ र उहँलाई फेरि भेट्न पाउँला कि हैन भन्ने आसंकाले मन कहालिएको छ। आखिर यी सबलाई छाडेर पनि किन मन गर्छ - America लागौँ। सायद सुनिस्चित् भबिस्यको असिमित् खोजि। यी सबका बाबजुतपनि बिहान उज्यलो भयो। तत्काल को एउटा अन्तिम् अँगलोबाट म विवश एकबिहानै उठ्न बाध्य थिएँ - किनकि धेरै तयारि अझै पनि बाँकि नै थियो। दिनभरमा प्राय: सबै नातेदार्, छिमेकि र साथिहरुको सुभयत्रा र सुभेच्छ्याका शब्दहरु थुप्रिरहे र मनमा अशीम पीडा थुप्रिदै गयो। अन्तत: साँझ पर्न लाग्यो र म रातो टीका र सयेपत्रिको माला सहित् बाटो लग्न विवश भएँ। QR ३५३ बहुतै भरिएको थियो र एकदम बीचको सिट परेकोले यात्र त्यति आरामदायी रहन सकेन। दायाँ एउत मोट्टो खैरे र बायाँ उस्तै खैरेनिका बीच निक्कै उकुसमुकुस रह्यो ४ घन्टा लामो यात्र। यो बीचमा एकपटक पनि बाहिर हेर्न पाईएन र पएकै भयेपनि त्यो अन्धकर मात्र हुने थियो। बीचमा एकपटक मात्र सिट्बात उठेँ र सङै आएकी साथी सँग कुरा गर्न पाईयो। धेरै दिन् देखि संगै जान भनेर बसिरहेका हामिहरु आखिर पुरै Flights भरि बेग्ला बेग्लै सिटहरुमा पर्योँ र यात्रा अझ कस्ठप्रद् हुन पुग्यो। र ४ घन्टाको विरक्त उडान् पछि डोहा अन्तरास्ट्रिय बिमानस्थलमा अर्को धर्ति उपस्थित् रह्यो। मेरो पुर्बानुमान बेठिक थियो-मैले कम्तिमा बैङ्कक स्तरको एयरपोर्ट् सोचिरहेकोमा यो धेरै सानो र कम आधुनिक् देखियो। अहिले ३ घन्टे transit मा जिवन जिवनचर्या खर्चिरहेछ - TRANSIT DOHA। ओरिपरि मङोलिअन् अनुहारका तरुना तन्नेरीहरु गफगाफमा मस्त छन्। कता-कता उनिहरु मलाई मलेसिअन् जस्तो लगिरहेछ। संगै आएकि साथि घुम्न गएकि छिन - अझै २ घन्टा जस्तो समए बितउनु छ। म खालि भुईंमा थ्याच्च बसेको छु र अतित् सम्झने प्रयास् गरिरहेछु। मात्र ४-५ घन्टा अगाडिको मेरो आफ्नो - सम्पुर्ण आफ्नो संसार हजारौं किलोमिटर टाढा बिलाइसकेको छ। म आकाशबाट भारत, पाकिस्तान, सायद अफ्गानिस्तान पनि, इरान र युनाइटेड अरब इमिरेट्स आदि देशहरुलाइ काट्दै अर्को एउटा मुस्लिम् संसारमा छु - तर मैले तेस्लाइ अनुभव गर्न पाएको छैन - सिवाए boarding pass लिने queue मा सेवा पुर्याइरहेकी एउटी अधबैंसे तर सुन्दर अनुहारसंगको औपचारिक २-४ शब्द बाहेक। यहिनै सायद जिवनभरको बुझ्नु हो - कतार बासी बारे। तर एउटा कुरा के चाहिँ निस्चित भयो भनेकि मानव जातिका सम्पुर्ण सोँच, अभिब्यक्ति, विचार, विवेचाना, र ब्यबहारमा एउटा मिलन विन्दुचहिं अवस्य छ; चाहे त्यो हिन्दु होस् चाहे मुस्लिम्, चाहे Asian होस् चाहे American।

फेरि भेटौँला