Wednesday, October 24, 2007

बिछोडका मनोभवनाहरु

जिवन अजंगका पहाडहरु उक्लने प्रयास् गरिरहेछ - तिम्रो उपस्थिति बिना, तिम्रा मधुर मुस्कानहरु बिना, तिम्रा अनमोल अनुरागहरु बिना, तिम्रा सुकोमल अंगालाहरु बिना। र जिवनचर्याका यि प्रत्यक बिन्दुहरुमा लागिरहन्छ - तिमि भएको भए यस्तो हुन्थ्यो; तिमि भएको भए उस्तो हुन्थ्यो।

गोरेटोहरु उजाड उजाड झैं लाग्छ, बाटोहरु अभाव नै अभावले भरिएझै लाग्छ। म भावनाहरु कोरिरह्छु - पढिदिने तिमि छैनौ, म गाइरहन्छु - सुनिदिने तिमि छैनौ, म देउसि र भैलोहरुमा भट्याइरहन्छु - उत्साह थपिदिने तिमि छैनौ, म पढिरहन्छु - साथ दिने तिमि छैनौ। म auditoriam हरुमा बोलिरहन्छु - तिम्रो उन्मक्त हांसो बिना, म प्रदर्शनहरु अवलोकन गरिरहन्छु - तिम्रो शितल साथहरु बिना। म विवश चलिरहेछु, एक्लै - तिम्रा सुनौला हत्केलाहरु बिना, तिम्रा गर्विला पाइलाहरु बिना, तिम्रा न्याना स्पन्दनहरु बिना - एक्लै, फगत एक्लै।

कति सकुँला म मेरा अन्तरंगहरुलाई यसरि उसिनिरहन। कति सकुँला म मेरा आत्मियताहरुलाई यसरी वन्दि बनाइराख्न। कति सकुँला म मेरा अपनत्वहरुलाई यसरि सिरानि मुनि खुसारिरहन। कति सकुँला म एक्लै एक्लै यो रुखो chinese भात खाइरहन। कति सकुँला म एक्लै एक्लै यो मिठो सपना बुनिरहन। मलाई सपना हैन विपना चाहिन्छ। मलाई कल्पना हैन यथार्थ चाहिन्छ। मलाई भविस्य हैन वर्तमान चाहिन्छ। मलाई एकलास यो एक्लोपना हैन तिमि चाहिन्छ।

प्रत्यक रातहरुमा तिमि छाउँछ्यौ र मेरा निदहरु चुँडेर लान्छ्यौ। प्रत्यक बिहानिहरुमा तिमि छाउँछ्यौ र मेरा जाँगरहरु चुँडेर लान्छ्यौ। प्रत्यक दिनहरुमा तिमि छाउँछ्यौ र मेरा भोकहरु चुँडेर लान्छ्यौ। प्रत्यक साँझहरुमा तिमि छाउँछ्यौ र कसरि सकुँला म तिम्रा अभावहरुमा मीठो सुसेली हालिरहन।

धेरै सपनाहरुमा तिमि थियौ - New Road का गल्लिहरुमा; revolving restaurant हरुमा; पशुपति, नरायणथान र दक्षिणकालीहरुमा; गोरखा र बुद्ध एयरका आकासहरुमा; बेगनास, फेवा र सेति किनारहरुमा; महेन्द्र गुफा, चमेरे कुफा र डेभिस फल्सहरुमा; सारांगकोटको चिसो सिरेटो र माछपुच्छ्रेका सामिप्यताहरुमा; बिन्देवासिनि र तालवाराहीका आशिर्वादहरुमा; साहरुख र काजल का रोमान्स् हरुमा।

धेरै अभिलासाहरुमा तिमि थियौ - थानकोटका ओरालाहरुमा, मलेखुका माछाहरुमा, आरुघाटका सुसाइहरुमा, लुम्ले र नौडांडाका मनमोहकताहरुमा, इलामका चियवगानहरुमा, झपा र मोरंगका फाँटहरुमा, दर्जिलिंगका छुक् छुक् छुक् छुक् रेलहरुमा।

धेरै आकांक्षाहरुमा तिमि थियौ - बराहक्षेत्रका भिरहरुमा, पख्रिवासका ओरालहरुमा, ट्याम्के माथिका हवाइजहाजहरुमा, गैरिगाउँ र डांडागाउँका ओहोरदोहोरहरुमा, वारिपुछारका अर्थुंगेहरुमा, पारिवारीका ऐंसेलुघारिहरुमा, बिध्योदयका प्रांगणहरुमा, सुन्तलेका सुन्दर खर्कहरुमा।

धेरै कल्पनाहरुमा तिमि थियौ - Qatar र Contenental का boeing हरुमा, बिस्वबिध्यालयका उध्यान र रंगसालाहरुमा, university village का हरिया चौरहरुमा, racquetball, badminton ra volleyball court हरुमा, football ground हरुमा। metro र mall हरुमा, चिडियाखाना र गगनचुम्बि tower हरुमा, planetariam र aquarium हरुमा; downtown र समुद्रकिनार हरुमा।

म दोहोर्याइरहन चाहन्छु, तिनकुने-सिनामंगल, सिनामंगल-तिनकुने। म मनभरि भोक मार्न चाहन्छु, तिम्रो हातको मीठो परिकार संग। म अनमोल निदाउन चाहन्छु, तिम्रा पाखुरिका सिरनिहरुमा। म अविरल हराउन चाहन्छु- तिम्रा नयनहरुमा। म लामो सुस्केरा हालेर थकान मेटाउन चाहन्छु - तिम्रा न्याना सपन्दनहरुसंग। म चाहन्छु - यो हामी बिचको पर्खाल गर्ल्यामगुर्लुम ढलोस् र हाम्रा समिप्यताहरुलाई, हाम्रा निकटताहरुलाई र हाम्रा सह-अनुरागहरुलाई उद्वेलित गर्नबाट केहि कसैले रोक्न नसकोस्।

Thursday, October 11, 2007

यत्रामा तिमि ५

बिहानै हामी धरानको बस चडेथ्यौं। इटहरीमा एक्छिन् ओर्लन पाइयो। ओर्लेर पानी पुरी किनेथ्यौं। खासै खान मन लागेर हैन। तिम्रो रहरले। पीरो चटपटे पनि खाइयो। आखिर कति पिरो भनेकि खप्न नसकेर तिमि भन्दै थियौ
-"कोक किन्नुस् न, कत्ति पिरो भयो।"
-"खाने बेलामा पिरो खानु पर्ने, अब के को कोक। भ्रिकुटी मन्डपमा पो तिमि सोल्टिनि थियौ र कोक पायौ। अहिले त उहि हो।"
-"के भ्रिकुटी मन्डप, के कोक, के सोल्टीनि? म तपाइँको केहि कुरा बुझ्दिन। कहिले कहिले को के के कुरा संझिने हो कुन्नी।"
मैले २ वटा pepsi खोलेथेँ। तिमिले सासै नफेरि पिएथ्यौ।

आधा घन्टामा बस इन्जिनियरिङ क्याम्पस हुदै धरान बस पार्क पुगेथ्यो। घोपा क्याम्प जान भनेर रिक्सामा चडेथ्यौं। पानी पर्न थाल्यो। रिक्साको छानोले थोरै मात्र छेक्ने। धेरै आफ्नै जिउमा। रिक्सावालाले कुरा निकाल्यो-
"घर कहाँ दाइहरुको?"
"दाइको पहाडतिर, बहिनिको यतै कता हो।" कुरा बंग्याएं।
"अनि ....!" उ दोस्रो प्रश्न गर्न अक्मकियो।
"मेरो घर भोजपुर। गाउँमा २ वटा छोराहरु छन्। यिनको घर यतै धरानमै हो। एउटी छोरिकि आमा। हामी बिहे गर्न लागेको। यो दोस्रो बिहे। दुबैको।"
त्यो रिक्सा चालक अलमल्ल पर्यो। नहुने ठाउँमा हात हालेछु कि झै मान्यो होला। तिमि आँखा तरिरहेथ्यौ। कस्तो सुर न तालको मान्छे होला। जे मुखमा आयो तेहि बोल्यो। लाज सरम केहि छैन। किन बिचरालाइ उल्याउनुपर्ने होला। आदि इत्यदि। म तिर्मो मनको भाव पड्न सक्थें। तर के गरौं। म यस्तै छु, सुर् न ताल्।

पुरानो घोपा क्याम्प अहिले बि पि मेमोरियल हस्पिटल बनिसकेको छ। रिक्सा गेटमा पुग्यो। हामी ओर्लियौं। ४० रुपैयाँ तिर्यौं र होटलतिर लागेथ्यौं। क्याम्प भित्र सितल छहारिहरुमा घुमिरहंदा १-२ चिनजानकाहरु पनि भेटिएथे र हामिलाई संगै देखेर अलमल्ल परेथे - सायद निमेसभरलाई। आखिर सबै कुरा त छर्लंगै थियो। तिमि रातो टीका र रातो सिन्दुरमा सजिएकि।

हातिसार क्याम्पस हुंदै बिजयपुर पुगेर बुढा सुब्बाको दर्सन गरियो। तिमि थाकि सकेकि छौ। तर मन रमाइलो छ। यिनि तिनै बुढा सुब्बा थिए जस्को मट्याँग्राको कथा हामिले इस्कुलमा पढेथ्यौं। मैले मनमनै "मेरि प्रिया सदियौं सम्म खुसि रहुन" भनेर प्रार्थन गरें। तिमि पनि गुनगुनाउंदै थियौ। थाहा छैन के माग्यौ। चौतारीमा एकैछिन् बसेर हामि पुन: ओरालो लागेथ्यौं - होटल तर्फ।

एउटा अर्को दिन यात्राको। बस धरानलाई तल सतहमा छाडेर उकालो लागेथ्यो। सुन्दर डाँडा-काँडा र जंगलहरु हुदै। सुन्दर चिल्लो सडक। सुर्यबहादुर ले बनाएको। बेलायती पैसामा। झ्याल बहिर हेर्दाको संसार्। स्वर्हिय आनन्द। मलाई रहर लाग्यो-
"हामी पछि आफ्नै कारमा आउनुपर्छ यो बाटो। कस्तो रमाइलो हुदोहो।"
"तपाईंको कार होला र आउँला भन्दै बस्यो भने त जिवन बित्ला नि।" तिमिले वास्तै गरिनौ।
"नत्र अर्कै जुनिमा आउँला नि त।"
"किन अर्को जुनि पनि तपाईंकै भएर थन्किन्छे भन्ठान्नु भा कि कसो?"
"ल ल अर्को जुनिमा हामि साथि साथि मात्र, घुम्न त मिलि हाल्छ नि, तेसरि पनि।"
"यहि जुनि को जिवन बोर भै सक्यो, म त लिन्न अर्को जुनि।"

बसले उकालो काटेर भेडेटार चुमिसकेथ्यो। ओर्लिएर मान्छेहरु नित्य कर्म तर्फ लागेथे। तिमि केटीहरुको हुलमा, म केटाहरुको। खुल्ला शौचालय। आकासको छानोमा। जंगलतिर फर्किएर। म चुइगम किन्दै थिएं। तिमि बस चडिसकेकि। बस गुड्न थालिसकेछ। हतार हतार दौडदै बस पक्डिएथें। अव ओरालो थियो। आँखा लोलायछन्। धेरै दिनको यात्राले होला। तिमि पनि निन्याउरि देखियौ। कतिवेला हो वस त धनकुटा काटेर हिले पुगिसकेछ। कस्तो नमज्जा। धनकुटा हेर्नै पाइएन।

म पाख्रिवास जाउँ भन्दै थिएं। तिमि मानिनौ। गलियो। साफ्फि। आजा हिले मै बस्ने रे। होटल खोजियो। औसत। पिरो आलु तामा र भात खाएर तुरुन्तै ढलियो। एकैछिनमा भुस। थकानले। राति कता कता केले टोकेझैं लागेथ्यो। साच्चिनै लाम्खुट्टेले टोके हुन्, AIT का र म पुन: कोल्टे फिरें हुँला, SV12A1 मा।

क्रमश...

सुर् न ताल्

Saturday, October 6, 2007

यात्रामा तिमि ४

सानोतिनो बजार। चतारा नहरको पस्चिम किनरामा। धेरै पाहाडेहरुका चिया नास्ता पसलहरु। मेथि र बेसार झानेर तारेको आलु चाना। ठ्याक्क भोजपुर् बजारका सुवालहरुको सम्झना दिलाउने। बिध्यालय पढ्दा २ रुपैयाको आलु चाना को खाजा कति उत्क्रिठ बन्थ्यो। तेहि सम्झनाहरु दिलाउने चिया र आलु को नास्ता गरेर हामी नहरको पुलमा उभिएथ्यौं। एकैछिनलाई। तेहि पुल त थियो, जहाँ एक tractor जन्तिहरु नहरको पानीमा समाहित भएथे। अस्तिनै। मान्छेले के के म्रित्यु लेखेर ल्याउने। निधारमा।

चतारा नहरको किनारै किनार सानो local bus उत्तर तर्फ हुंइकिएथ्यो। अतिनै कस्ठप्रद मध्यको एउटा यात्रा। सानो बस। मान्छे गुन्द्रुक झै खादिएका। सडकको धुलो उडेर पुरै बस् भित्र छिर्ने। अझ अर्को दिशा बाट कुनै गाडि आयो वा आफ्नै गाडि रोकियो भने त धुलो को कुहिरोमा पुरै डुबिने। संसार् अध्यारो। तिमि कराउदा कराउदा अव थाकिसकेउ-
"यस्तो बाटोबाट हिडाउने। हजुर संग अव म कहिले हिडेभने त के र।"
"म के गरुँ त। यात्रामा कहिले दुख पनि हुन्छ नि। अनुभव भयो नि। यस्तो पनि हुन्छ भन्ने।"
३ घन्टा पछि चतारा पुग्दा टाउको, अनुहार र कपाडाभरि १ इन्च बाक्लो तह परेको हुंदो हो। धुलोको।

बिसेस गरि भोजपुरेहरुको बेसाहा खरिद गरिने बजार्। भरियाहरुको भिड। भरियाहरु नुन, तेल, चिनि, चामल, लत्तकपडा देखि लिएर घर छाउने जस्ता पाता र पक्कि घरका लागि सिमेन्ट र डन्डि सम्म बोकेर भिरै भिरको बाटो तेर्सिनछन्, उत्तर पस्चिम दिसा तर्फ। बराह क्षत्र, त्रिबेणि, खोर्साने टार, गुठिखेत, लामिबगर, कावा, फेदि हुदै भोजपुर सदरमुकाम पुग्दा ५ दिन् जति लगाउछन। तमोर र अरुण मा त झोलुङे पुलहरु छन्। तर लामिबगर देखि कावा सम्म २५ जँघारहरु तर्नु छ। घाटि घाटि सम्म को उर्लिदो पिखुवा खोलामा ज्यानको जोखिम मोलेर उनिहरु ७५ देखि १००/१२० KG सम्मका ढाकरहरु ओसारीरहन्छन्। जिन्दगि भर। र तेसैमा हामि बचेका छौं। माथि भिरालाहरुमा।

एउटा सानो होटलमा खाना खाएर बराह क्षत्र तर्फ लाग्दा १२ बजेथ्यो। त्यो पाहाड काटेर बनाएको १०-१२ KM बाटो। गाडि जान सक्ने गरि बनाउन खोजेको फराकिलो छ, तर पैदल हिड्नु पर्छ। तल निलि सप्तकोशी साँगुरा गल्छिहरु बाट हुत्तिएर घुला फाँट तर्फ लम्किएकि। घना जँगल- वारि पारि। सुन्दर झरनाहरु। माथि पाहडका टुप्पा बाट तल खाँदमा कोशिको अथाह जलरासि सम्म छ्चल्किरहेका। २-३ घन्टा कम्तिमा लम्कनु छ। तिमि आधा घन्टा नहिड्दै फर्कन्छु भन्न थालिसकेथ्यौ।
"भोजपुरमा जन्मिएको भन्न पनि लाज होला है - २ घन्टा हिड्न पनि नसकेको भन्दा।" मैले छेड हानेथें।
"म काठमान्डु कै सहि - तर म अरु हिड्न सक्दिन।" तिमि फन्किरहेथ्यौ।
"नसके यहिं बास बसौं। बिच सडकमा। अरु के नै उपाए छ र।" म सायद रिसाएं।
"ल ल भो, नरिसाउनुस्।" तिमि सकिनसकि लम्कन थालेथ्यौ।

कोकाया खोला र सप्तकोशी नदिको दोभानमा अवस्थित त्यो सानो तर प्रख्यात धर्मस्थल्। बराहक्षत्र। सुन्दर र मनमोहक बातावरण। र त्यत्रो बिशाल नदिको किनारामा। भिरको तल। कहालि लाग्दो पनि। पाप धर्म छुट्याउने चिल्लो ढुंगो उचाल्ने प्रयास फेरि पनि गेरेथें। यो सातौं पटक होला। फेरि पनि उचालिएन। हेर्दा सानो छ। तेत्रो ढुंगो पनि के नउचाल्नु भनेझैं। तर खंदिलो र चिल्लो पनि छ। करेच परे मात्रै उचालिंदो हो। वा संसारमा केहि दैबि सक्तिको उपस्थिति छ भने तेस्ले साच्चिकै पापि र धर्मात्मा छुट्याउदो पनि हो। म सम्पुर्ण नास्तिक पनि कसरि बन्न सक्छु र। यसरि म संधै अधर्मी। पापि नै त कसरि भनौ, आफैंले आफैंलाई। अधर्मी भनेको चाहिं त्यो होला जस्ले धर्म गरेको छैन। अर्थ यस्तो नलागोस्, धर्म नगर्दैमा पापै गरेको हुन्छ। यस्ता पनि त कर्म हुदा हुन् - जो पाप पनि हैनन्, धर्म पनि हैनन्। हो तेहि गर्दो हुँ म। न पाप न धर्म। मेरो सुर न ताल को ब्याख्या को के अर्थ तिमिलाइ। तिमि हाँसेउ - "पापी मान्छे।"

"ल तिमि हेरौं त!" - मैले कर गरेथें। तर तिमि मान्दै मानिनौ। केटाकेटीमा म खुव जिध्दि मान्छे। तर म भन्दा मेरि राम पियारी जिध्दि बनिदिएउ। गर्दिन त गर्दिन गर्दिन। तिमिले पाप धर्म को छिनोफानो गरिनौ। सायद प्रयास गरेर अधर्मि बन्नु भन्दा प्रयास नगरेर अनिर्नित बस्नु नै श्रेयस्कर ठानेउ तिमिले। राम्रो बिचार। हामी कोकाया पारि पस्चिम पट्टि जान भनेर झोलुंगे पुलमा पुग्यौं। मैले देखेका धेरै लामा मध्यको एउटा झोलुंगो - उस्तैलाई त्यो आसानि छैन। पार गर्न। तिमि पनि खुव डराएथ्यौ। दुबैतिर बारलाई समाएर बिस्तारै हिडिरहेकि। मानौं ति काठका फल्याकहरु तिमिलाई थेग्न लायक छैनन्। बिचमा पुगेपछि मैले पुल हल्लाइ दिएथें।
"आमाsss" -- तिमि कहाल्लियौ।
"आमा त काफ्लेमा - सुन्नुहुन्न। सासुआमा भंगेरिमा - वाँ पनि सुन्नुहुन्न। यहिं भाको आफ्नै पतिदेवलाई पुकारे भै गो नि - 'ए हजुर' भनेर।"
"यहाँ आर्काको सातो पुत्लो उड्यो। उस्लाइ जोक छ। उता जाउ। तिमि संग म बोल्दिन।"
"उता जा भनन, के जाउ नि!"
"भन्छु के।"
"के गरौं त म।"
"छिट्टो हिड्नुस् पारि।"
"हस् प्रभु, जो आज्ञा।"

पारि पुगेर दहि चिउरा खाँदै गर्दा साँझ पर्न लागिसकेथ्यो।
"कस्तो मिठो दहि, घरकै जस्तो।"-तिमिले प्राक्रितिक प्रतिक्रिया दिएथ्यौ। दहिको।
"यो पनि घरै त हो नि, कसैको।" - मेरो प्रतिक्रिया टेडो थियो, सदैव जस्तै।
"जे मा पनि बाँगा कुरा। नबोल्नुस हजुर।"
"मुख सिलाईदेउन please!"
"सियो खै?"
"पाहाडिकाँ छ। टुँडिखेल मुनि।"
"उसो भए भोजपुर पुग्नासाथ सिलाइदिन्छु।"
"चुप लाग। बरु तिम्रो सिलाउनु पर्ला।"
"तपाइकै सिलाउने हो।"
"दुबै सिलाउने। अनि ढुक्क।" - म हाँसे र तिमि पनि।

फेरि कोकाया तरेथ्यौं र अलिक् राम्रो चाहिं होटल छानेर वास बसेथ्यौं। एउटा रातोमाटो ले पोतेको कोठा। सानो खाट। भुइंमा गुन्द्रि। सानो झ्यालबाट बाहिर हेर्दै म मेरा पुराना सस्मरणहरु सुनाइरहेथें -"म धेरै पटक दशैं मनाएर फर्कंदा तिनै अगाडिका छाप्राहरुमा बास बसेको छु। टाँड माथि गुन्द्रि ओछ्याइदिन्छन्, उनिहरुको मा खाना खाइदिएपछि। पुरै टाँडभरि मान्छेहरु हुन्छन्। हेर त आजपनि कत्ति धेरै मान्छे हरु - ऊ त्यो टाँडमा।" हामीले सिधै अगाडिको सानो मतानमा हेरेथ्यौं। १०-१२ जना मान्छेहरु निस्फिक्रि सुतिरहेका।
"म त्यहां धेरै पटक सुतेको छु, तेसै गरि।"
"डर लाग्दैन?"
"के को डर। साथिहरु पनि हुन्छन्। एउटा लाइट पनि बोकिन्छ।"
"केटिहरु पनि छन् त?"
"केहि हुदैन। परदेश हो। यात्रिहरु। भय पनि दुबैको इच्छले हुने हो। के पिर।"
"फटाहा मान्छे हजुर्।"
"के फटाहा नि। आफु त सोझो मान्छे। यसो संसारमा देखे सुनेको कुरा गरेको।"
"कुन्नि के थाहा?"
"मेरो निधारमै लेखेको छ नि। किन थाहा नहुनु"।

भोलिपल्ट पुन: ३ घन्टा हिडेर चतारा र पछि ३ घन्टा बस मा झुम्का हुदै इनरुवा पुगियो। आज हिजो जस्तो गारो भएन। मान्छे कम भएर। गाडि पनि अलिक हेर्न हुने परेछ। ठुलो बा आमा बेस्सरी खुसि हुनुभो, अकस्मात सोच्दै नसोचेका छोरा बुहारी दैलोमा देखेर। हाम्रो सरप्राइज दिने योजना हो। यस्तै छ। ठुलो बा आमाको न्यानो मायाँ र आतिथ्यता मा त्यो एउटा स्मरणिय साँझ बितेथ्यो इनरुवामा। इनरुवा - मेरो अर्थमा हेला मा परेको रमाइलो बजार।

क्रमश ...

सुर् न ताल्

Thursday, October 4, 2007

यात्रामा तिमि ३

"ए हजुर् नौ बजिसक्यो! छिट्टो उठ्नुस्!", म झल्यास्स बिउझिए। घाम घरमाथी पुगिसकेछन्। आज पनि दौडा दौड होला जस्तो छ।

बुटवल तानसेन को त्यो ४०-५० KM होला, तीखा घुम्तिहरु- डरलाग्दो। प्रत्यक मोडमा तिमि मेरो हात पक्डन्थ्यौ। लाग्थ्यो गाडी बाटो भन्दा बहिरा गैसक्यो। तल सिधै तिनाउ छिन्। कलकल बगेकि। आँग सिरिंग हुने। कौयौं दुर्घटना सुनेको छु/देखेको छु। यो बाटोको। एउटा Motercycle को कथा सुनाएँ मैले।
"यहि सडकमा काम गर्ने एउटा इन्जिनियर ऊ तेहि घुम्तीमा मोटरसाइकल घुमाउन नसकेर सौयौं मिटर तलको तिनाउ तर्फ उडेको थियो। अचम्मको भाग्य उस्को, ऊ त्यो बुट्टामा अल्झेर बाँच्यो। उसको Bike का टुक्राहरु पर पर छरिएका थिए।"
तिमि अझै डारायौ। म अझ मेरो आफ्नै काहानी सुनाइरहेथेँ।
"तेतिबेला म राम्रो सँग सजिलो बाटोमा पनि मोटरसाइकल चलाउन जान्दिनथेँ। ठेकेदारले दिएको त्यो खटारा Bike। Brake पनि राम्रो संग लाग्दैन्थ्यो। उरन्ठेउले उमेर। म तेहि Bike मा पछाडि बलरामलाई राखेर बुटवल तानसेन, तानसेन बुटवल गरिरहन्थें। यहि घुम्तिहरुमा। अहिले त आफैंलाइ कस्तो डर लाग्छ।"
तिम्रो धडकन अझै भढ्यो - "हजुर त वेवारिसे टाइप को मान्छे। यस्तो डरलाग्दो बाटोमा। कस्तो आँटपनि आएको? केहि भएको भए।" म हाँस्दै थिएं - "अरु त ठिकै हो, तर केहि भएकै भए पनि तिमिलाइ त के फरक पर्थ्यो र। म हुन्नथेँ। म यो सन्सारमा जन्मेको छ कि छैन नै थाहा थिएन त्यो बेला तिमिलाइ। बराबर। बरु कोहि अर्कै तोरि लाहुरे संग बिहे गरेर यत्रो घोर्ले छोरो पाइसकेकि हुन्थ्यौं। झन मज्जा।" तिमि मेरो तिघ्रामा चिमोटी रहेथ्यौ - "यत्रा मान्छेले सुनिराछन् बसमा। के के बोलिराको यो मान्छे।"

तानसेनको टाउकोमा कति सुन्दर बगैंचा। हामीले लामो सुशेली तानेथ्यौं र रमाइला कुराहरु गरेथ्यौं - हाम्रो संसारका।
"अव भिमसेनगोलामा घर बनाउने, अनि मात्रै छोरा पाउने।" तिम्रो योजना थियो।
"घर बनाउन नसके सधै वाउ नबन्ने त?" फेरि कुरा मिलेन।
"हजुर् जे सुकै गर्नुस्, म त नाइ!"
"घुर्कि हो कि धम्कि हो यो?"
"जो सोच्नुस्, कुरा तेहि हो।"
"भगवान् रक्षा गर!"

मैले एउटा ढाका टोपी किने। तिम्रो रोजाइको। तिमिले एउटा ढाकाकै वर्को किनेउ। मेरो रोजाइको। किन किन अरुको रोजाइ मन पर्ने। कस्तो सँबन्ध यो तिमिसंगको।

पाल्पाली ढाका टोपी सिरैमा थियो, हामी भरतपुर पुगिसकेका थियौं। साँझको खाना खाने रे। बाटो छेउको होटल। गुरुजि को मिलेमतो। उहि फुस्रो भात। झोल हालेको टर्रो बोइलर। नाला वाला इनारको तरलाग्ने पानी। कसरि खाने? तिमि मुख बिगारिरहेथ्यौ।
"कस्ति राम्रि रहिछिन् तिनि।" एउटी तरुनि केटी तर्फ औंल्याइरहेथें, तिम्रो मुड परिवर्तन गर्नु थियो।
"बोलाइदिमत कुरा गर्न?"
"यो ढाकाटोपीवाला पाखे संग के कुरा गर्लिन र?"
"ओर सर्नुस्। म टोपी हटाएर कपाल कोरिदिम्ला।"
"भैगो। तिमि जत्ती राम्री त छैनन्।"
अनि फेरि तिमि रिसाएझैं गरिथ्यौ।
"म राम्रि भए नि नराम्री भएनि तपाईंलाई के? तपाईँ को हो र मेरो?"
"पोइ भन्छन् मलाई मेरि प्रिया को, बुझेउ राम प्यारी।"
"मेरो कोहि पोइ सोइ छैन।" तिमि उता फर्किएथ्यौ।
"OK, तिमि र म नचिनेको मान्छे। जाउँ बसमा।"

बस पुर्व तर्फ लाग्यो। समथर संसारमा। अँधकारलाई तिखा head light हरुले छेड्दै। तिमि पर आकाशका ताराहरु देखाउदै "ध्रुव तार तेहि होला" भनिरहेथ्यौ। मैले भनेथें - "ध्रुवतारा त विहानी पख पो झुल्कन्छ त, तेति वेला त हामी ढल्केवर तिर पुगिसकेका हुन्छौं"

म कत्तिवेला झकाएछु पत्तै भएन। ब्युँझदा तिमि अझै मस्त निदाइरहेकै थियौ। एकैछिनमा अ-मलेखगंज आयो। त्यहाँ मैले कुनै दिन ३ घन्टा लाइनमा घडा भएर बिताएथें। सैनीक को जाँच कुरेर। तिमि निदाइरहेकै छौ। बस अनकन्टार जँगलमा अनकन्टार अँध्यारोलाई छिचोल्दै अझ पुर्व तिर हुँइकिरहेछ। पथलैया पनि गैसक्यो। तिमि निदाएकि निदायै छौ। मलाइ उठाउन मान लाग्यो। कुरा गर्ने कोहि छैन। फेरि के दिस्टर्ब गर्नु। मस्त निदाइरहेकि मान्छेलाइ। मैले एउटा स्याउ र Frooti निकालें। भोक लागेर हैन, अलमल्लिन।

"हेर मलाई नउठाइ एक्लै खान लागेको।"
"हँ अ अ अ अ!" म झस्किएँ। तिमि आफ्नो अनुहारलाइ मेरै छातिमा म तिरै घुमाएर मुख बंग्याइरहेथ्यौ।
"हैन तिमि निदाएकि निदायै भयौ भनेर साथि निकालेको।"
"म एक्छिन् नहुना साथ अर्को साथी खोज्ने हजुर् नराम्रो मान्छे।"
"ल ल। राम्रो भएनि नराम्रो भएनि फेर्न मिल्दैन। उठ। Frooti खाऊ। "

तिमिले Frooti लिंदा नलिंदै बस ढल्केवर पुग्यो। ३ बजेको रहेछ।
"ए ढल्केवर। खै त ध्रुवतार।"
"ध्रुव त भरतपुरमै छुट्यो। तारा पछाडि सिटतिर होलिन्। तर तिमि पनि छौ। क्या बोर।" मैले कुरा बङ्याएँ।
"म केहि भन्दिन। जो सँग जान मन छ गए हुन्छ।"
"ल हेर तापक्रम बढेको। भमरा चाहिं पक्कै दुइटा होलान् - टाउकोमा"
"हेर्नुस् न छ कि छैन, थाहा भै हाल्छ नि।"
मैले यसो कपाल पल्टाएर हेरेझैं गरेथेँ।
"छाड्नुस्। अर्कालाइ छुनु पर्दैन।" तिमि पर सेरेथ्यौ। रमाइलो। जति सरेनि सिट तेहि थियो। एउटै। जोडिएकै। म हांसिरहेथें।
"किन हाँसेको। अहिले पिटिदिन्छु अनि।" तिमि अझ पर सर्न खोजेथ्यौ।
"लौ त हेरौं पिटेको।" मैले तानेर म संगै ल्याएथें।

बिहान् झिसमिसे भएको रहेछ। "ए हजुर् हेर्नुस् त कोसि ब्यारेज आएछ"। म आँखा मिच्दै झ्यालतिर फर्किएथें। त्यो १ KM लामो बाँध। जसले नेपालको नगन्य तर भारतको महत्वपुर्ण भुभागलाई डुबान बाट बचाउंछ। र तेहि एउटा पुल छ, जसबात देशको सबै भन्दा ठुलो नदि वारपार गर्न सकिन्छ। तिमि मन्त्रमुग्ध अथाह लाग्ने समुद्र जस्तै पानीको संसारमा रमाइरहेथ्यौ। भारदहका जहाजी केराहरु हाम्रो बसको झ्यालबाट भित्रै सम्म आइरहेथे। तिमिले ठुलै काइँयो किनेथ्यौ। सस्तो थियो। १० रुपैयाँ को २०-२२ वटा। केरा खादै गर्दा बस अगाडि बढिरहेथ्यो। सुनसरीका धान फाँटहरु हुंदै झुम्का पुग्दा जम्मा ७ बजेथ्यो।

क्रमस..
सुर् न ताल्।

पुनस्च: अव कता जाने सोचिराछु। सायद् चतारा नहर् हुदै चतारा-वराहछेत्र सम्म पुग्छुकि।