Wednesday, July 9, 2008

भर्चुवल संसार

१८ नोबेम्बर, २००४।


म कहिल्यै पनि लेखक हैन। तर आजकाल झनै बढी अलेखक बनिरहेछु। म कहिल्यै पनि जेहेन्दार विद्यार्थी बन्न सकिन। थिइन। तर अचेल झनै अजेहेन्दार बनिरहेछु। म संग मेरो संसार छैन। जो संग/जहाँ तिता-मिठा दु:ख-सुखका भलाकुसरिहरु हुन सकोस। मसंग मेरो संसार छैन। जहाँ यताउता बिचरण गरेर मनमोहकता बटुल्न सकियोस। र आखिर केही नभएरै पनि; तन सुन्य, मन सुन्य, संसार सुन्य, काम काज सुन्य, राम रमाइलो सुन्य भएरै पनि दिन बितिरहने रहेछ। मलाई एउटा अनुसन्धान गर्न मन लागिरहेछ - आखिर दिनमा २४ घण्टा नै किन हुन्छ; वा के साच्चिकै प्रत्यक दिन २४ घण्टा कै हारा हारिमा हुन्छन? वा समय के हो, घण्टा भनेको कती हो, मिनेट र सेकेन्ड भनेको कती? के समय प्रिथ्भी को रफ्तार संग टासिएको छ कि मनको रफ्तारसंग गासिएको? सबै दिनहरु उत्तिकै लामा हुन्छन भने किन मलाई लागिरहन्छ कुनै दिनहरु बिकराल तन्किएका त कोही सुलुत्त चिप्लिएका? मलाई लेखा जोखा गर्न इच्छा छ कि आखिर के गरेर म मेरा अमुल्य टुक्राहरु चोइट्याइरहेछु, जीवनयात्राका, आजीवन। के यो निर्जिव मेसिनको १७ इन्च लामो पर्दा नै सम्पूर्ण जीवन हो? के गूगल, याहु, र नेपाल न्युज नै सम्पूर्ण संसार हुन? धन्य ब्याडमिन्टन प्रतिको मेरो मोहलाई - जस्ले म जिवितै छु र भौतिक संसारमा - कम्प्युटर नभएको सांच्चिको संसारमा पनि मेरो अस्थित्व छ भन्ने दर्साइदिन्छ। प्रत्यक सांझ। कंक्रिटका कोर्टहरुमा। नत्र त मेरो अस्थित्व केवल भर्चुवल मात्रै न हो। उठ्यो स्विच थिच्यो। दिनभर उही १७ इन्च भित्रका रंगी बेरंगी द्रिस्यहरु मा अल्मल्लियो। राती आँखा लोलाउन थालेपछी स्विच थिच्यो। पल्टियो। बस।