Monday, March 10, 2008

गाउं फर्कने दिन - ३

गाउँ फर्कने दिन - २
२०५९ - ६ - २१।
भोजपुर।

...............................
ति भारतीय बच्चाहरु; छोरी दिदी, छोरो भाई। दिदी कारीब ६-७ बर्षकी बालिका। कहिले आमाको काखमा बस्छिन; कहिले बाबा आमाको बिचमा। भाई ३-४ बर्षको त्यो बालक। कहिले पर कुर्चिमा गएर उक्लन्छ, कहिले आमाको झोला खोतल्छ, कहिले बाबाको चस्मा निकालेर फल्दिन खोज्छ। एकछिन पछि त्यो केटो बाउको टोपी लिएर दौडन थाल्यो। म उस्कै पछी आँखा दौड्याइ रहेथें। केटो कोही मान्छेसंग ठोक्कियो र अलमल्ल पर्‍यो। मेरा आँखाहरु केटाको शरीरबाट बिस्तारै मस्तिर उक्लिए। कस्ती राम्री केटी। २०-२२ कि होलिन। म कती पुगें हुंला? ए, अं, खासै बुढो त भैसकेको छैन कि कोही २०-२२ को मान्छेलाई हेर्न नमिलोस। आँखा यता उता फैल्याएं। म निस्फिक्री छु। उनी हातमा बोर्डिङ पास बोकेर अगाडि बढी रहेकी थिन। साथमा अर्की अधबैसे महिला पनि छिन, शायद तिनी जेठि छोरी। वा उन्की काकी वा सानीमा वा कोही छिमेकी। जो सुकै हुन। म तुरुन्तै उन्को हात माग्न तिनी अधबैसे सामु उभिन लागेको भएपो त उनी को हुन को केही माने। मेरो उदेस्य त उन्को चेहरामा अल्मल्लिएर एक आध घण्टा बिताउन पाए समय छिट्टो बित्थ्यो भन्ने सम्मको न हो। अत: मलाई कुनै समस्या छैन, उनी को हुन वा उनी संगकी ति महिला। उनि उत्तर तर्फको भित्तामा जोडीएको कुर्चिमा गएर बसिन। म उठें र उनलाई ४५ डिग्री घडी घुम्ने दिसाको उल्टो तर्फ घुम्दा ४५ डिग्रीमै देख्ने गरी १०-१२ मिटर जती परको कुर्चिमा गएर बसें। उन्लाई एकटकले हेरिरहेछु मानौ मेरो लागि त्यो कुरुवा हलमा उनलाई नियाल्ने ड्युटी मिलेको छ।

मेरो उडान तुरुन्त होला जस्तो संकेत छैन। कोही चिनजानको मान्छे पनि त्यो हलमा छैनन। म स्वतन्त्र छु। आफ्ना चाहनाका कृयाकलापको लागि। यता गर्छु, उता गर्छु। पसलामा गएर डबलमन्ट किन्छु र राम्रो संग पड्काउन मिलोस भनेर ३ वटा एकै चोटि चपाउन थाल्छु। बांकी रहेका २-४ वटा छेउमै कुर्सिमा बसेकाहरु तर्फ तेर्स्याउंछु। कोही थुत्छन, कोही 'म त लिन्न त' भन्छन। मलाई कुनै गुनासो छैन। नचिनेकाले दिएको कुरा खानु राम्रो पनि त हैन। छरिएका कान्तिपुरका पानाहरु पल्टाउंछु, सबै जसो पन्नाहरु बिज्ञापनले मात्रै ओगटेका छन। मान्छे बन्दा धेरै बस्तु छन कि कसो नेपालमा। पुन: तिनै बच्चाबच्चिहरुलाई हेर्छु र कल्पनाहरु खेलाउछु। समय बिताउने यावत: प्रयासहरुले पनि बल्ल घडीलाई १० बजे सम्म मात्र घुमाउन सकेका छन। र एत्तिकै मा उनी छिरेकी छिन्, यो कुरुवा हलमा। र म मेरा अरु समयहरु उनिसंग खर्चिरहेछु।

उनले एउटा हात चिउडो निर लगेर चोर औंला र बुढी औंलालाई मुखको आधा भाग छेक्ने गरी राखेकी छन। अरु औंलाहरु मुठ्ठी परेका देख्छु। अर्को हात पेटको तल्लो भागमा तेर्सिएको छ, चिउडोमा लगेको हातको कुइनोलाई स्ट्याण्ड बन्ने गरी। म पनि तेसै गरी बसें र उन्लाई हेर्ने आफ्नो समयचर्या कायमै राखें। बेला बेलामा उनी पनि म तर्फ छोटा छोटा नजरहरु फालिरहेकी छिन, मानौ त्यो हलको अन्य द्रिस्यहरु नियाल्ने क्रममा म देखा परेको हुं। उनी प्रयास पुर्वतिर बाट बस्तुहरु र मान्छेहरु नियाल्दै आँखाहरु दौड्याउँछिन र म सम्मुख भएर पश्चिमतिर पुग्छिन। त्यो क्रम पुन: एकछिनमा दोहोरिन्छ। म बुझ्दिन, उनी मेरो उनी प्रतिको बिशेष चासो प्रती सजग छिन र म तर्फ हेर्ने बहाना गरिरहेछिन, वा साच्चिकै समय बिताउने प्रयास स्वरुप उपलब्ध बातावरण तर्फ फिक्का नजर फालिरहेछिन। उनी कहिले हात तल झार्छिन, म तेसै गर्थें। उनी कोही अरु मान्छे वा कृयाकलाप तर्फ अंखा दौड्याउथिन, म तेतै दौड्याइदिन्थें। वा उनी जे गर्थिन, म तेही गर्थें। र अलावा उनी के गर्दैछिन भनेर उन्लाई नियालिरहनु पनि मेरो आवश्यकता थियो। आधा घण्टा जतिको त्यो दवाब पछी उनी पनि आजित भईछन कि कसो, मेरो पछी पो लाग्न थालीन। म खल्तिमा हात हालेर दाहिने खुट्टा हलाउँछु, उनी तेसै गर्छिन। म दांत कोट्याउंछु, उनी तेसै गर्छिन। लाग्यो म नाक कोट्याउँ र केटाकेटिमा जस्तो बाहुलाको फेरोले पुछौं। अनी उनी के गर्दी रहिछन्? यस्तैमा उनी उठिन, र तिनी अधबैंसे संगै मेरो दाँयांतिर अगिकै कोणमा गएर बसिन, तर ९० डिग्री घडी घुम्ने दिसातिर खुमेर। अव उनको द्रिस्य अलिक ब्रिहत भयो।

यस्तैमा मेरो ध्यान अन्यत्र गएछ। अगिको भारतीय परिवार त्यहाँ छैन। ओरिपरी नजर घुमाएं, उनिहरुको खोजिमा। शायद त्यहाँबाट अगिनै अस्ताइसकेछन। खै कस्तो खल्लोपन एकैछिनलाई सलबलायो, मन भरी, तनभरी। एउटी पुड्कि-पुड्की र पोटिला गाला भएकी तरुनी अगी देखिनै त्यो Departure गेट संगै बसेर म संगै चुइगम चपाउने प्रतियोगिता गरिरहेथिन, उनी पनि बिलाइसकेछिन। यता उती हेरें, अगिनै परिचय भएका २-४ भोजपुरेहरु तेतै हल्लिरहेछन। पैयापानी तिरकी १०-१२ बर्षकी सानी फुच्ची पनि हामी संगै यो सदैब ढिला गर्ने उडान कुरिरहेछिन, पेटलाई च्याप्टो बनाएर। उनको अनुहार मलिन भईसकेको छ, कुर्दा, कुर्दा र कुर्दाको यो नमिठो थकानले। अफसोस मेरी गत ४५ मिनेट देखिकी खेलकी साथी पनि त्यहांबाट हिंडिसकिछिन। उफ, कस्तो नमज्जा। उनी अस्ताउनु अगाडि म बाटो लाग्न पाएको भए यो पट्यारी फेरी झुल्किने थिएन। अरु त के नै थियो र हाम्रो त्यो आँखा आँखाको खेलमा। एउटा सामान्य घटना, यात्राहरुमा घटिरहने। तैपनी अर्को एउटा निमेसभरको अभाव दिलभरी रुमाल्लियो। उनको अभाव। बिचित्रको छ यो मन। कोही कसै प्रती पनि अकर्सित हुने। क्षण भरमै बहकिने। कस्तो अनियन्त्रित! कस्तो अनुत्तरदायी!

पुन: अरु कुनै बहाना खोज्दै थिएं समय कटाउने। भोक लागेको हो कि जस्तो पनि भई राछ। बेकरीहरु त देख्छु, तर असाध्य महंगा हुन्छन त्यहाँ। पाउरोटी हालेथें, तर के संग खाने। एउटा फुच्चे कोक भए पनि तान्नु पर्‍यो भनेर एसो त्यो पश्चिम भित्तातिरका पसल पट्टी फर्कदै थिए, RNAC को एउटा अधबैंसे मान्छेले उडानका लागि बोलायो। भोक, प्यास, पट्यार, थकान, एक्लोपन, खालिपन, र अभाब सबै मेटिए। बिजुलिको झिल्का जस्तै। मन प्रफुल्ल भयो, खुशी भयो र हलुंगो भयो। लामो पट्यारलाग्दो कुराइ पछीको मीठो फल।

महिलाहरुका लागि महिला नै र पुरुषहरुका लागि उस्तै सुरक्षाकर्मिहरु हामीलाई लाइनमा राखेर सुरक्षा जांच गरिरहेछन। म चाँहीं हराउन थालीसकेको छु। त्यो ट्याम्के डाँडो, त्यो सेल्मे डाँडो, त्यो पिखुवा खोला, त्यो सानो गाउँ र गाउंको पुछारमा रहेको मेरो सानो घर। गुज्राती भैंसीले यसपाली त पक्कै पाडो पाइन होली। बिगौती खान त पाइएन, खिर खाने हो अब। घोर्ले खसी पनि १५ धार्निको जख्खु भयो होला। सिन्धुरे गोरु पोहोर सालनै बुढो देखिएको थियो, एस्पाला कतै खरितेलाई बेचिदिएकी। दामा बाट किनेर ल्याएथें, कती प्यारो थियो। धेरै साथ दिएथ्यो, टाहार बारी र चप्लेटी खेतहरुमा। सिकारीले एस्पाल कतिवटा परेवाहरु लग्यो होला। २० जोर त अझै होलान, त्यो राते भाले खुब मन पर्थ्यो मलाई, अझै छ कि छैन होला। सम्झनाका बादलहरु मडारिरहेका थिए, बसले कतिबेला प्लेन भए सम्म पुर्याइ सकेछ। चालकहरु त्यो ११९A को टुइन ओट्टर लाई ओरिपरी घुमेर check गरीरहेथे। बिमानस्थल र बिमानहरु समेटेर मैले एउटा फोटो खिचें र प्लेनका खुड्किलाहरु तर्फ उक्लिएं। एती स्फुर्त छु कि मानौं म मेरो घर छेवैको पंधेरो माथिको सानो उकालो उक्लिरहेछु। तेही उकालो जहाँ सानोमा म दुबै हातमा ५-५ लिटरका जर्किनहरु लिएर उकालीन्थें। सांझ पर्दा कहिले काहीं मनभरी स्पष्ठ डर लिएर, सुनिएका भुतप्रेत र तर्साउनेहरुको, म त्यो सानो उकालो सास न बास भएर बेतोड उक्लन्थें र डाँडामा पुगेपछी निमेसभरलाई बिसाएर फेरी दौडन्थें - तेर्सो, पाली घर तर्फ।

अस्तु।

Monday, March 3, 2008

गाउँ फर्कने दिन - २

गाउँ फर्कने दिन - २
२०५९ - ६ - २१।
भोजपुर।

---------------------
र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।

ठाउँ ठाउँमा सुरक्षा जांच, दाजु टरमिनल भवन भन्दा अलिक तल जाली बारसम्म मात्र आउन पाउनु भो। झोला च्यापें र एक्लै लम्किएं। ८ बज्न लागेछ। आन्तरिक टर्मिनलमा छिरें। खचाखच मान्छेहरु, १०-१२ वटा बिभिन्न उडान सेवाका काउन्टरहरु। एकछिन यता उती गरें। ८ बज्यो। भोजपुरको RA काउन्टर खुल्यो। १६५ Airport Charge बुझाएं। सामान जोखाउनु केही थिएन, झोलामा हाते बिल्ला हाल्न लगाएं र भित्र पट्टिको departure हल मा छिरें। साडे सात हुन लागेछ।

त्यो हल रमाइलो थियो, नरमाइलो पनि। रमाइलो यसर्थ कि धेरै थरिका रंगी बिरंगै मान्छेहरु आउछन, डुल्छन, बस्छन र जान्छन। यि सबहरुलाई नियाली रहन बहुत आनन्द आउछ। नरमाइलो यसर्थकी म RNAC को उडानमा छु - जो अक्सर लामो समय कुराउंछ र बारम्बार स्थगित भई रहन्छ। यि सबको नैरास्यता र के होला, कसो होला, कहिले उड्लाको अस्थिरतामा त्यो कुरुवा हलमा अल्मल्लिरहन दिक्क लाग्दो हुन्छ।

यो पटकको यात्रा पनि उस्तै रह्यो। धेरै बिदेशिहरु हलमा छिरे र कुर्सिहरुमा बस्ने, सौचालय छिर्ने, क्याफे र किरना पसल जाने, अंगालो मारेर यता उता भौतारिने अनी departure gate को लाइनमा बसेर गाडी चडने (जस्ले प्लेन सम्म पुर्याउछ) सम्मको क्रीयाकलापमा औसत आधा घण्टा जती बिताए हुन, मेरा सामु। धेरै कालाहरु पनि थिए, अफ्रिकन। धेरै गोराहरु पनि थिए। र बढी चाँहीं भारतीयहरु थिए। धेरै बच्चाहरु आए, दौडिए, चुइगम पड्काए, झगडा गरे, आमा-बाहरुलाई पिरोलिरहे वा भनौं अल्मल्याइरहे र उसरिनै बाहिरिए। कुनै एउटा airlines को कुनै एउटा flight. धेरै मसिना बच्चाहरु पनि आए, बामे सर्ने वा टुकुटुकु हिंड्ने। अरु कोही आमाका काखहरुमा निधाइरहेका वा स्तनपान गरिरहेका। दुइ चार तेस्ता यात्रुहरु पनि देखिए जस्लाई नेपाली हो वा बिदेशी खुट्याउन सकिएन। तिनिहरु बिदेशी पनि हुन सक्छन, अलिकता नेपालीपन अपनाएका। वा नेपाली पनि हुन सक्छन, धेरै बिदेशिपन अपनाएका। र संग संगै २-४ सुनौला, सुन्दर अनुहारहरु पनि देखा परे र बिलाए, कोही श्रीमानसंग, कोही केटा साथीसंग, कोही आमासंग, कोही साथीसंग, कोही एक्लै।

एउटा भारतीय जोडी र उनिहरुका २ वटा बच्चाहरुलाई धेरै बेर नियाली रहें। कहिलेकाहीं यस्तो लाग्छ कि तुरुन्तै बिहे गरौं र फटाफट एक दर्जन छोराछोरी बनाउं। कती रमाइलो होला ति प्यारा कलीला आँखाका नानीहरु संग खेल्न, जिस्कन, चलाऊन, रुवाउन, हसाउन। जुन ति भारतीय बच्चाहरु र उनिहरुका आमा-बा बिच भई रहेछ। तर यो मेरो निमेसभरको आवेश पनि कत्ती नमज्जाको। मनौ उनिहरु एउटा यन्त्र हुन। म एकबिहानै उठ्छु र पावर अन गर्छु। दिन भरमा भकाभक १०-१२ बच्चाहरु उत्पादित हुन्छन- दुरुस्त बच्चाहरु - जसरी गुडियाहरु दुरुस्त हुन्छन। यो मेरो आवेस कदाचित नारिहरुलाई होच्याउन अभिप्रेरित हैन, भनिहाले, एउटा आवेसको उद्वेग मात्रै हो। उनिहरु त आमाहरु हुन, निस्वार्थ मायाँले भरिएका। उनिहरु त श्रीजना हुन, श्रीजनासिलताका पारखी। उनीहरु त जीवन संगिनी हुन, गाडाको अर्को पांग्रो, मोहोरको अर्को पाटो, त्याग आत्मियताका महासागरहरु। उनीहरु त दिदी बहिनी हुन, सदैब मेरो रक्षाका लागि बांचिरहेका, कोमलताका प्रतिमुर्तिहरु।

अझ बढी, वास्तवीकता त पर छ, क्षितिजतिर। तुरुन्त विवाह, एउटा अर्को आवेसको उद्वेग हो। असम्भव। विवाह एक्लै हुँदैन। जव कोही अरुसंग विवाह गरिन्छ भने उस्लाई अपनाउन सक्ने क्षमता पनि आफुसंग हुनुपर्‍यो। त्यो अझै तयार भईसकेको छैन। भनिहालें विवाह कोही अरु संग गरिन्छ - अर्को लिंग। धेरै वा भनौं अनगिन्ती फरकपनाकादुई बाटाहरु उदांगिएर एकठाउँमा जोडीने हुन। यसले एउटा जटिलतम परिस्थितीमा जकडिदिनेछ। त्यो परिस्थितीलाई शहज बनाउन सम्झ्यौता गर्न सक्ने शाहस र क्षमता सुध्रिड हुनु पर्‍यो, म मा। अन्यथा हाम्रा बाटाहरु भत्कन सक्छन, भास्सिन सक्छन।

उफ, यो एउटा abstract 'हामी'। किनकी कोही अरु गासिएको छैन- भौतिक रुपले- म संग, ताकी म हामी ओड्न सकौं। यो 'हामी' एउटा आत्मिए चित्र हो, मनको प्रिस्ठभुमिमा नजानिदो पाराले, नदेखिने रंगहरुद्वारा सुस्तरी पोतिएको सुन्दर चित्र।

साच्ची बाटो यहाँनिर पनि हराएछ। म मेरो यात्रामा थिएं। वास्तविक। तर लिग छाडेर पहाड तर्फ उक्लन प्रयास गरेछ। शहयात्राको पहाड। "नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले।" बेकारका वकवासमा म किन मस्तिस्क घोटिरहेछु? उनी जो आउछिन, अहिलेकी abstract उनी जब वास्तबिक जीवनको अमिट क्यानभासमा पोतिन्छिन, उनी एउटा चित्र मात्र त हैनन नि। भावनाभित्र अनगिन्ती उद्वेगहरु संगालेर, अनेकन सपनाहरु संगालेर र अलावा जस्तो सुकै परिस्थितीमा पनि रथ तानिरहने एउटा द्रिढ संकल्प शाहीत त्यो बिशालतम फड्को मार्नेछिन, उनि, मेरो सामु आइपुग्न। अझ यसो भनौं त्यो चौतारीसम्म पुग्न जहाँ म पनि पुग्ने छु र आपस्तमा शहयात्रा सुरु हुन्छ। यहाँनिर चौतारीको प्रसंग किन महत्वपूर्ण छ भनेकी कोही पनि एक्लै अर्को कोहीसम्म पुग्दैन। दुबै बिचको समझदारिले मात्रै एक आपस्तमा सम्म पुर्याउने काम गर्छ। म चाहन्नकी यो सम्म पुग्ने कामको सम्पूर्ण उत्तरदायित्व महिलावर्गमै छाडौं। त्यो अन्याय हो। के भौतिक रुपमा पुरुषको भनिएको कटेरोमा आफ्नो वासस्थान सार्नुनै ऊ सम्म नारी पुग्नु हो त? के पुरुषको कुनै जिम्मेदारी छैन त, यो शहयात्रामा उनितिर लम्किन? कदाचित हैन। कोहीसम्म पुग्नु भनेको मनको कुरा हो, भावनाको कुरा हो, अन्तरंगको कुरा हो। भौतिक रुपमा ४ वटा पर्खालहरु र एउटा ओतले बनेको त्यो सानो अभयव त एउटा कारागर मात्रै हो - मान्छेलाई उन्मक्त र खुला आकाशबाट अलग्याउने। त्यो अभयव त जतिबेला पनि भत्कन सक्छ। भत्काउन सकिन्छ। सानो बढी, पैरो वा भुइचालोले चकनाचुर पारीदिन सक्छ। त्यस्को अस्थित्वनै बिलाउन सक्छ। वास्ताविक कटेरो त मनमा हुन्छ। वास्तबिक घर त मनमा हुन्छ। मुटुमा कोरिएको त्यो घर मात्रै युगौं युग अमिट रहन्छ। हो त्यो घर वास्ताविक हो। जहाँ हामी पुग्छौं, शहयात्राका लागि।

र मेरो यो शहयात्रा एक्कासीको हुनेछ, म एकै पटक उनको घर सम्म पुग्नेछु, उनी मेरो सम्म। त्यो समायोजन एक्कासीको हुनेछ। सुभ्र। इमान्दार। शान्त। र स्निग्ध। मैन बत्तिको शिखा जस्तै।