Saturday, September 8, 2007

नयाँ वर्ष

शुभकामना लथालिँगै छरिएछन्
सिसौका पालुवाहरु फेरिएछन्
घरको भित्ते पात्रो पनि बदलिएछ
करै लागेर सोधेथेँ संगिनिलाई
फेरि एउटा नयाँ वर्ष थालिएछ।

पुरानो शाल फेरियो नयाँ आयो
खै के भयो र देख्ने मैले
मेरि संगिनि पुरानै छिन्
चोलोको पाखुरो टालेकै छ
नाम्लोको डाम् बसेकै छ।

खै के भयो र कहाँ खोज्ने मैले
भुन्टेको भोक् चिच्याईरहेकै छ
च्यान्टीको जाडो काँपिरहेकै छ
सेतै फुलेकी मेरि आमा
आँसु पिईरहेकै छिन्।

खै के भयो र,
सिर्फ,
एउटा नयाँ अँकै त रहेछ - नयाँ वर्ष
एउटा नयाँ पात्रै त रहेछ - नयाँ वर्ष।

मेरि सँगिनि झोक्किइन्,
देखेनौ बुढा नयाँ वर्ष -नियालेर हेरत।

बल्ल पो आँखा खुले,
नयाँ वर्ष,
कपाल पालेर पनि आएछ
नयाँ वर्ष,
कपाल फालेर पनि आएछ
नयाँ वर्ष,
मुन्द्रि हालेर पनि आएछ
नयाँ वर्ष,
मुन्द्रि फालेर पनि आएछ।

टोल-टोलमा - Beauty Contest बनेर आएछ,
मोल - मोलमा - Fashion Show बनेर आएछ,
गितारको तार बौलाएर पनि आएछ,
मैयाँको प्यार मौलाएर पनि आएछ।

त्यसैले,
शुभकामना मेरि संगिनिलाई पनि
पाना आकारमा टालिदेउ त पाखुरो चोलोको
तिम्रो पनि नयाँ वर्ष गाँजिएर आइहाल्छ।

No comments: