Monday, March 30, 2009

सन्कल्प

न मैले कतै सपना बुने
न मैले कही बिपना भुले
तै पनि जीवन उदासी हुने
खै कुन बिरानो गीत यो सुने!



निस्छल जीवन सुसाएकै थियो
टुकी कै उज्यालो प्रसस्त थियो
तिमी हिउदको घामझै अस्तायौ
पुरानो जीवन कहाँ खोजु भयो!

बर्षा ठाने हरियाली दिने
खहरे रहेछ उर्लिएर जाने
घरबारी अब बगर सरी भो
कहाँ कसरी फोगटा बिराउने?

न मैले कतै अबिश्वास रोपे
न मैले कही ढोका यो थुने
तिमीनै थियौ लीलामी हुने
निरस अब म किन रुने?

Pic Source: http://imagecache.allposters.com/images/pic/APG/F102343~Determination-Little-Pine-Posters.jpg

Sunday, March 15, 2009

एक दिनको कुरा - शुभकामनाको।

"शुभकामना - नयाँ बर्षको।" उनि हात हल्लाउछिन। म सोच्छु। 'शुभकामना!' एउटा पालिस लगाएको शब्द। एउटा खोक्रो औपचारिकता। शायद समय नै पालिसको। आडम्बरको। औपचारिकताको। अझ एउटा फेसन। सस्तो तथाकथित आत्मियता।

नयाँ बर्ष। समय। जन्मदिन। जिन्दगी। नरमाइलो संसार।
अबिश्वास। मेरो उनी प्रती। उन्को म प्रती।
संका। तेही शुभकामनामा पनि। उनी पालिस फुकालेरै उपस्थित हुन! म पालिसको चस्माले अल्पन्धो छु। उनिपनि।
घात - प्रतिघात - विश्वाशघात। आफन्तबाट पनि। अन्जानबाट पनी। म घात पाउछु। पचाए पनि त हुने। म बदला सोच्छु। प्रतिघात। उनिपनि।
विश्वाश जही तही डग्मगाएको छ। तिम्रो मधुर मुस्कानमा पनि म सकुनिका राजनीतिहरु देख्छु। र तिमिपनि। कती विवस जिन्दगी। कसैलाई चाहेर पनि अंगालन नसक्नु। कतै पछाडिबाट छुरा खोचिएलाकी।

र यस्तै निरासाहरुमा म तिमी पाउछु। हिउदे गहुं बारीमा मुस्किलले बर्सिएको एक झर जस्तै। जीवन अलिकती रसिलो बन्न खोज्छ। धन्यवाद तिमीलाई। साधुवाद तिमीलाई। तिमी सधैं आइरहु। निरन्तर आइदेउ। हिउदको एकझर मात्र हैन। बर्खा को अबिरल झरी बनेर आउ। जिन्दगी पर्खाइ हो। म तिमीलाईनै पर्खि रहन्छु। मात्र यो एक हिउद हैन। म सयौं सिसिर र बसन्तहरु कुरिरहन्छु। अर्को बर्खाको आकंक्ष्यामा।

सानैमा। मन चन्चले र अबोध नै हुँदा। लाग्थ्यो जीवन सुनकोशी हो। स्वच्छ। सुन्दर। सफा। निर्मल।
तर आज योवनमा। मन भाबुक हुँदा। चेतनामा अलिकति बिउहरु अंकुरायपछि। लाग्छ जिन्दगी वागमती बनिसकेछ।


वाग्मती एकाइसौ सताब्दिको तन्नेरी/तरुनी हो। भावना बिहिन। मानवता बिहिन। प्रदुशित। कलुशित। दुर्गान्धित।
तेसैलेकी मानव मुटु र मानवताहरु फोहरका कन्टेनरहरुमा फ्यालिएका छन। तिम्रा पनि। मेरा पनि। मन र भावनामा बिष्णुमती मिसिएकी छिन। तिम्रो पनि। मेरो पनि। यधप्पी म भावनाबिहिन जिउदै छु। हजुर; पलिस लगाएको शब्दमा, नत्र तं, तिमी वा पराकास्टमै पुगे तपाईं; जिउदै हुनुहुन्छ - धड्कनबिहिन। संसार निर्जिव बांचिरहेछ।

र मेरो मनको बिष्णुमती तिम्रो मनको बागमती संग मितेरी गास्न खोज्दछ। आखिर म एउटा सामान्य मान्छे। तिमी जस्तै। कुनै देवता ओकल्न सक्दिन। मनको स्वार्थ लुकाउन सक्दिन। र प्रस्फुटित हुन्छु। "तिमी सदा हाँसिरहु। मेरो पनि शुभकामना। नयाँ बर्षको।"

Monday, December 15, 2008

घोकाइ २: म पेन्डुलम मन पराउँछु।

अनायास आज मेरा बिगत देखि वर्तमान सम्मका घोकाइहरु याद आइरहेछन। कुनै बेला थियो; च्याख्ला कसरी पकाउने भनेर निम्न माद्यामिकका पाठ्यपुस्तकहरु घोकिरहेथें - पाक शिक्षा। अलि पछि माद्यामिकमा आएर धनुस्टन्कारका लक्षणहरु र मस्तिस्कज्वोरोका कारणहरु घोकियो। संगसंगै आलुमा लाग्ने रातो कमिलो र गाइ-भैंसीमा लाग्ने खोरेतका उपचार पद्धतिहरु घोकियो। चन्द्र ग्रहण र प्रकाश वर्षका पारिभाषाहरु पनि बुनिए, ति कलिला मानषपटलहरुमा। उ बेला दिमाग पनि अलि धारिलो नै थियो क्यारे, सयौँ रोगहरुका २०औँ लक्षण र उपचारका क्रमांकहरु कण्ठस्थ हुन्थे।

अलि पछी महाबिद्यालयका पहिला-पहिला दिनहरुमा प्रिज्म र कोनका पारीधीहरु घोकियो - मेन्सुरेसनमा। अझ पछी घर, सडक र पुल-पुलेसाका नाप-जोखहरु घोकियो; पैसा र पदार्थका परिमाणहरु, थिओडोलाइटको बबल, र २ नम्बर चाल्नोका छिद्रहरु नियालेर धेरै बर्षहरु बिते। विश्वबिद्यालयमा घोक्ने बिषयवस्तुहरु अझ फरक पर्दै गए। ठुला ठुला घर र पुलहरुबाट म अब सानो भाडोमा सिमित भए: १४" को CRT र १४४ बर्ग इन्च को प्रसोधक यन्त्र यानि CPU; सयौं algorithma हरु र तिन्लाई कार्वान्वन गर्ने सफल-असफल प्रयासहरु संगै उमेरका धर्साहरु कोरिदै गएथे र पावर चस्माले अब तं उही बिद्यालयमा पिप्सा चपाउदै कोठे रिंगमा सुन्तलीलाई छेकिरहेको किसोर रहिनस भनिरहेथे।

विश्वबिद्यालयका माथिल्ला तहहरुमा घोक्ने पाठ्यक्रम अरु परिवर्तन भए। भु-उपग्रह प्रक्ष्यपणका तरिकाहरु; तिनले पछ्याउने बाटोहरु; तिनिहरुमा जडिएका यन्त्रहरु; तिन्ले पढाएका तस्बिरका बिस्लेषणहरु र अनी कसरी म कृष्णभिरको पहिरो (शायद अहिले त्यो असान्धर्विक भईसक्यो कि; भन्छन नि साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ) लाई यि उपग्रहहरु प्रयोग गरेर अवलोकन गरुंला भन्ने तौर-तरिकाहरु। जीवन तेत्ती घोकाइहरुमा खुशी रहेन; घोक्ने भोक अब अर्को दिसा तिर लम्कियो; गोलार्धको अर्को पाटोमा। आजकल म बडेमानको एउटा ट्र्याकटर घोक्छु; घोकाइमा तुक धेरै नहोला; तर एउटा नितान्त नौलो घोकाइ। भु-उपग्रहका ठुला ठुला कुरा बाट पुन: म धर्तिको स-सानो कुरामा ओर्लिएको छु। हुनत: यो डियर भन्नेको ट्र्याकटर पनि सानो छैन; मेरो गाउँको २ तले घर जत्रै होला; एसो बिचरा गर्दा।

र २७ बर्ष भरिको अबिरल घोकाइपछी म एउटा ट्र्याकटर ड्राइभर भएको छु। प्रत्यक चिसा बिहानिहरुमा म मतान बाट तेस्लाई निकाल्छु; ठुलो फांटमा पुर्याउछु; कहिले आँफै steering घुमाउछु; कहिले मेरो सानो कम्प्युटर प्रोग्रामलाइ अह्राउछु; यता लैजा र उता लैजा भनेर अनी कता गईरहेछ भनेर अबलोकन गर्छु। सुर्यको प्रकाश धमिलिदै गएपछी पुन: म कम्पुटरबाट ट्र्याकटरको कब्जा आफ्नो हातमा लिन्छु र मतानमा फर्काउछु; सुस्तरी; पछाडितर्फबाट। मानौं उसरिनै; जसरी म 'तारे' र 'माले' गोरुलाई बिहानै फुकाउथें; हलो काधमा राखेर टाहारबारी तर्फ धपाउथें; दिनभर ह-ह-तारे-ह-ह-होर्रा गर्दै बाझो फुटाउथें र सांझ पर्न लाग्द फुकाएर गोठमा फर्काउथें अनी चु-चु-चु-चु गर्दै बानेर २ मुठा पराल हालिदिन्थें। मेरो बाबा मेरो यो सब परिवर्तन माथि अनन्तबाट नियालिरहनु भएको होला र भन्नु हुदो हो- "तं यो पुरा आधा जीवन खर्चेर के बनिस कान्छा? तेही ट्र्याकटर चलाऊने नै रहर थियो त म त्यो काला-बन्जराको फाटमा १० कठ्ठा किनेर टाटा को ३ पांग्रे उहिले किन्देको हुंदो हुं।" बाबा मलाई माफ गरिदिनुस्; म तपाईंको लायक बन्न सकिन; शायद।

यसरी अबिरल परिवर्तनहरुबाट गुज्रिए मेरा घोकाइहरु। शायद अरुको पनि यस्तै हुदो हो; तेत्ति हो -मलाई आफ्नो प्यारो लाग्छ; अरुलाई उनर्कै। शायद म नै उस्तो; कहिल्यै पनि जे घोकिरहेछु तेस्मा रमाउन सकिन हुँला; कम्तिमा तेती रमाइन जतीकी तेसैमा अबिछिन्न भुलिरहन सामर्थ्य रहोस्। शायद अध्ययन (यानी मैले भनिरहेको घोकाइ; म जहिले पनि तेसै भन्छु किनकी जे कुरा बुझेको छैन त्यो पढ्नु भनेको घोक्नु हो; बिस्तारै लत लागे पछी त्यो बुझेको जस्तो हुन्छ; जस्तैकी २+२=४ भनेर २ कक्ष्यामा म घोक्थें; अहिले बुझे झैं लाग्छ) मेरो मिल्दो कुरा हैन। तैपनी; चाहेर हो कि नचाहेर; स्वदेश्-बिदेश सबै चाहरियो- अध्ययनार्थ; यानी घोक्नका खातिर। अफसोस; अनतत: म त्यो भए "भिरको चिन्डो उधो न उभो"। तर म यो मन पराउछु। म पेन्डुलम मनपराउछ; त्यो सधैं चलिरहन्छ वा हिडिरहन्छ; तर कहिल्यै कही पुग्दैन। को नै कहाँ पुगेको छ र। जस्ले जे भनोस; जहाँ पुगे भनेर स्वोघोषणा गाह्रोस; आखिर प्रिथ्भी गोलो छ; कही पुगे भन्नु तेस्को खिलाफ हुनेछ। कही पुगे भनेर अली अझै हिंड्नुस् फेरी पुरानै ठाउँमा। अनी के फरक भयो र पेन्डुलम र त्यो कोही जो आफुलाई चलायमान सम्झन्छ। तेसैले म पेन्डुलमा मन पराउछु। यदी म मन पराउछु भने कस्को के लाग्छ। आखिर जीवन मेरो हो।


source: http://www.pendulumhealing.com/images/pendulum_sketch.gif

साच्ची! अव त अलिकती जीवन उन्को पनि हो र अर्को टुक्रा त्यो फुलको पनि हो; जो कहीं अन्कुराउनेछ। म अलिकती पेन्डुलम निकालेर अरु केही बन्न खोजिरहेछु!

Thursday, October 16, 2008

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।
Oct,9,2003
-------------------------------

सानै देखि प्राथमिक स्कुलमा घोक्न थालियो, 'दुई-दुना-चार' देखी 'सत्र-दुना-चौतिस' सम्म। राम्रा अंकहरु आए। माद्यामिक बिद्यालयमा अरु धेरै घोकियो, 'अर्घाखाँची-सन्धिखर्क' देखी 'जिम्बाब्बे-हरारे' सम्म। राम्रा स्रेणीहरु मिले। तथाकथित सफलताहरु। क्याम्पस गएं, घोकें। संगै बसेर घोक्ने दौतरिहरु भिन्न थिए। ठाउँ भिन्न थियो। पहिले सानो कोठा, गाउंको, टुकिको उज्यालो, कहिलेकाही दाई नहुँदा लाल्टिन। अहिले ठुलो कोठा, शहरको, बिजुली बत्त्तीको उज्यालो। घोकाइ आझै ससक्त बन्यो, राम्रा भनिएका अंक तालिकाहरु थपिए। धेरै प्रबेस पारीक्ष्याहरुमा घोकें, पाटन क्याम्पस देखी पुल्चोक हुँदै पिपल्स सम्म। छनौट तालिकामा अग्र पंतिमा नाम्हरु देखिए। विश्वाबिद्यालयमा पुन: घोकें। घोक्ने तरिका फरक भयो होला। प्रक्रिती फरक भयो होला। बिषयबस्तु फरक भए होलान। तर काम उही थियो। घोक्नु।

यी प्रत्यक घोकाइहरुमा मैले मेरा बर्सौं सम्मका अमुल्य समयहरु खर्च गरें, मेरो बाबाका बर्शौं सम्मका पसिनाहरु पनि। आखिर के पाएं? म जहाँ छु - के मैले मेरो बाबाको दैनिकिमा अलिकता पनि परिवर्तन दिलाउन सकें? यि मेरा भनिएका सफलताहरुले के अलिकती पनि मेरो गाउँ र मेरो घरको जीवनचर्यामा परिवर्तन धकेल्न सके? आखिर यि घोक्नुहरुका उपलब्धिहरु के? के म नघोक्नेहरु भन्दा एक औंश पनि बुध्धिमान भएं?

अबत अझ बढेमानको घोकाइ सुरु गरेको छु। बिदेशमा। के यो बिदेशी घोकाइले कुनै जादु गरिदेला? के आफ्ना सम्पूर्ण जवानीहरु खर्चेर स्वदेशमा घोक्दा नमिलेको कुनै अद्भुउत सफलता यो अंग्रेजी मिसिएको घोकाइले बोलाइदेला? के मेरा घोक्नु प्रतिका लगानिहरुको प्रतिफल नजिकिदैछ? मलाई विश्वाश छैन। यि म जे गरिरहेछु, जसरी घोक्नुमा लगानी गरिरहेछु, मेरो अ-मुल्य जीवनका अतुलनिय टुक्राहरु खर्च मात्रा गरिरहेछु, फेरी कहिल्यै उकास्न नसक्ने गरी। मलाई विश्वाश छैन, कुनै पनि हालतमा म मेरा अ-मुल्य लगानिहरुका ब्याज मात्रै पनि फर्काउन सक्ने छु।

अर्थशास्त्र भए 'sensitivity analysis' गर्थें होला, 'break-even' गर्थें होला, सावाँहरु, ब्याजहरु र नाफा-घाटाहरुमा घोत्लेर मात्रै निर्णय गर्थें होला, लगानिको। तर यो जीवन हो। काठमान्डौ हेटौंडा सुरुंगमार्ग हैन। त्यसैले म ब्याजको अन्त्यहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु, निरन्तर- निरन्तर।

Wednesday, July 9, 2008

भर्चुवल संसार

१८ नोबेम्बर, २००४।


म कहिल्यै पनि लेखक हैन। तर आजकाल झनै बढी अलेखक बनिरहेछु। म कहिल्यै पनि जेहेन्दार विद्यार्थी बन्न सकिन। थिइन। तर अचेल झनै अजेहेन्दार बनिरहेछु। म संग मेरो संसार छैन। जो संग/जहाँ तिता-मिठा दु:ख-सुखका भलाकुसरिहरु हुन सकोस। मसंग मेरो संसार छैन। जहाँ यताउता बिचरण गरेर मनमोहकता बटुल्न सकियोस। र आखिर केही नभएरै पनि; तन सुन्य, मन सुन्य, संसार सुन्य, काम काज सुन्य, राम रमाइलो सुन्य भएरै पनि दिन बितिरहने रहेछ। मलाई एउटा अनुसन्धान गर्न मन लागिरहेछ - आखिर दिनमा २४ घण्टा नै किन हुन्छ; वा के साच्चिकै प्रत्यक दिन २४ घण्टा कै हारा हारिमा हुन्छन? वा समय के हो, घण्टा भनेको कती हो, मिनेट र सेकेन्ड भनेको कती? के समय प्रिथ्भी को रफ्तार संग टासिएको छ कि मनको रफ्तारसंग गासिएको? सबै दिनहरु उत्तिकै लामा हुन्छन भने किन मलाई लागिरहन्छ कुनै दिनहरु बिकराल तन्किएका त कोही सुलुत्त चिप्लिएका? मलाई लेखा जोखा गर्न इच्छा छ कि आखिर के गरेर म मेरा अमुल्य टुक्राहरु चोइट्याइरहेछु, जीवनयात्राका, आजीवन। के यो निर्जिव मेसिनको १७ इन्च लामो पर्दा नै सम्पूर्ण जीवन हो? के गूगल, याहु, र नेपाल न्युज नै सम्पूर्ण संसार हुन? धन्य ब्याडमिन्टन प्रतिको मेरो मोहलाई - जस्ले म जिवितै छु र भौतिक संसारमा - कम्प्युटर नभएको सांच्चिको संसारमा पनि मेरो अस्थित्व छ भन्ने दर्साइदिन्छ। प्रत्यक सांझ। कंक्रिटका कोर्टहरुमा। नत्र त मेरो अस्थित्व केवल भर्चुवल मात्रै न हो। उठ्यो स्विच थिच्यो। दिनभर उही १७ इन्च भित्रका रंगी बेरंगी द्रिस्यहरु मा अल्मल्लियो। राती आँखा लोलाउन थालेपछी स्विच थिच्यो। पल्टियो। बस।

Monday, June 16, 2008

आज र भोली

सुर न तालको डाएरी
२-१-२००४
...............

अर्को एउटा महिना सुरु भयो - मेरा बिरानीहरुलाई एक महिना कम गरेर; मेरा लागि छुट्याआइएका दिनहरुलाई एक महिना कम गरेर।

किन जहिले पानी हतार - यो छिट्टो होस्; त्यो चिट्टो होस्। यो दिन आओस त्यो दिन आओस! आखिर जे सुकै दिन आओस जीवन त निख्रिदै नै जाने न हो। किन मान्छे बर्तमानमा जीवन मन पराउदैन? कि भुत प्यारो, कि भबिस्याको पर्खाइ! किन म आज संग रमाउदिन? किन अनबरत भोलिको पर्खाइ? के जीवन भोलिहरु पल्टाउदै जादा फेरी आज फेला पार्न सक्छ? के जीवन भबिस्यहरु छिचोल्दै जादा बर्तमान भेट्टाउन सक्छ? असम्भव!

तै पानी किन म आजहरुलाई छिट्टो छिट्टो लखेट्न चाहन्छु? यो राम्रो लक्षण हैन - कि प्रत्यक आजहरु नरमाइला लागुन। र त्यसमा तिमी छौ - जो मलाई जहिले पनि भोलिको प्रतिक्षा गर्न उत्प्रेरित गर्छौ। तिमी को हौ कि प्रत्यक पल म तिम्रा आशाहरुमा बिताइदिउं? म प्रत्यक पल तिमी सम्मुख हुने भोलिका आशाहरुमा बिताइदिउं? मेरो रोश छ तिमीसंग/ आँफैसंग कि किन वर्तमानलाई निन्याउरो पाउँछु - सदैव।

हो यिनै निन्याउरापनहरुमा एउटा महिना बित्यो र तिमी मेरो अलिकता नगिच बनिदिएउ। पक्कै पनि अरु महिनाहरु बित्लान, बर्षहरु बित्लान र दुरिहरु समाप्त होलान। कदाचित यस्तो नहोस् - त्यो पल पनि म भोलिका पिडाहरुमा असमन्जस बिताइदिउँ।

........

Tuesday, May 27, 2008

यात्रामा तिमी- अन्तिम भाग।

यात्रामा तिमी- अन्तिम भाग।

ताजमहल अगाडि उभिएर तिमी अचम्म मानिरहेथ्यौ - "कस्तो बादशाह थियो होला त्यो जस्ले यती बिशाल दरवार बनायो - आफ्नी रानी को सम्झनामा।" हामी हराइ रह्यौं, धेरैबेर, ति शाह जहान र मुम्ताज का काहानी अनी यो महलका अतुलनिय सुन्दरताहरु संग। आजै दिल्ली फर्कनु छ - दिदी भिनाजु नत्र रिसाउनु हुन्छ। भोली बिहानै त रेल समातेर निस्कनु छ। फेरी ड्राइभर पनि त कुरिरहेको छ। ४ घण्टा जतिमा उस्ले दिल्लिको तो बहिरी भागमा पुर्यायो जाहाँ मेरी दिदी बेचैनिका साथ हाम्रो प्रतिक्षा गरिरहनु भएको थियो। उहाँ यती खुशी हुनुहुन्थ्यो हामीलाई देखेर कि मानौँ यो नै उहाँको सबैभन्दा खुशीको पल हो।

छुकछुक छुकछुक रेल बिहानै दक्षिण तिर हुइकियो। गोआ - समुद्र किनारहरुले धनी गन्तब्य। पालोलेम बिचको बालुवामा घोप्टिएर मतिर टाउको फर्काउदै तिमी फुकेट र गोआका बिचहरुको तुलना गरिरहेछौ।

"यो भन्दा त मलाई प्याटोङ बिच नै राम्रो लागेको थियो।" तिमीलाई बिगत बर्तमान भन्दा रमाइलो लाग्छ। शायद मलाई पनि। र यो पनि तिमीले बुझेकी छौ - बिगत बन्नलाई बर्तमानमा घटनाहरु बुन्नु आवश्यक छ। अनी यात्रा जस्तो उत्क्रिस्ठ तान केही हुँदैन जस्ले भबिस्यको लागि एउटा सुन्दर ईतिहास बुनिदेओस। तेसैले हामी यात्रामा निस्कन्छौं, नयाँ अध्याय लेख्न, भबिस्याको ईतिहासको। तर मलाई बर्तमान प्रती अन्याय गर्न मन छैन। किनकी मैले बुझेको छु यो पल आज जती रमाइलो छ, भोली फर्किएर हेर्दा अरु सैयौ गुना रमाइलो बन्ने छ।

"खै मलाई त यही राम्रो लाग्यो। फेरी तिमी रिसाएकी थियौ फुकेटमा।"
"म रिसाएको कि हजुर?"
"तिमिनै त हो स्विमिङ नगएकी।"
"हजुर नै त हो पहिले फोटो खिन नमानेको।"
"ल ल छाड। फेरी यहाँ पनि उस्तै होला।"
"कस्ले पक्डिएको छ र?"

अनी हामी त्यो अरबिक सुमुद्र किनाराको बालुवा र पानीमा खेलेर औधी रमाएथ्यौं। सम्पूर्ण तनाबहरुलाई भुलेर, थकानहरुलाई बिर्सिएर। हजारौँ भारतीए, काला र गोरा हरुको बिचमा पनि आफु एक्लै जस्तो। कसैको पर्बाह बिना। मस्त। उन्मक्त। स्फुर्त।

र हाम्रो सिद्धान्त अनुरुप हामी उडिरह्यौं अनी गुडिरह्यौं ; एसिय, युरोप र अमेरिकाका आकाश र सडकहरुमा।

बेङ्लोरबाट भारतीय बिमान सेवाले बेइजिङ पुर्याएथ्यो। हामी हाम्रै धर्ती माथि उडीरहेथ्यौं होला, शायद। बेइजिङ रमाइलो थियो rectangle हरुमा बाडिएको शहर। अझै अबिस्मरानीय थियो १ घण्टा जतीको सडक यात्रा पछी पुगिएको आस्चर्य चकित पारीरहने बिशाल आस्चर्य - the Great Wall. चिनिया सम्राज्यको उत्तरी सिमाना जोगाउन भनेर सासकहरुले १ दसक लगाएर बनाएको त्यो बिशाल पर्खालहरुको स्रिंखला अबर्नानीय थियो। ६००० KM लामो त्यो पर्खाल ठड्याउने क्रममा लाखौं मान्छे मरेका थिए रे। ठाउँ ठाउँमा किल्लाहरु पनि थिए, सैनिकहरु पहरेदारी गर्न बस्ने किल्लाहरु। पहाडै पहाडबाट उठाइएको पर्खालमाथि सिडिहरु थिए। हामी ति सिडिहरुमा उक्लैदै सोच्दै थियौं कती दिन लाग्दो हो यो पर्खाल वारपार हिंड्न! मेरो बाबा २००१ साला तिर सैनीक हुनुहुन्थ्यो। उहाँले भन्नु भएको सम्झन्छु, पूर्व ४ नम्बर बाट नेपाल सम्म राणाहरुलाई राजास्वको सिक्कहरु पुर्याउन जांदा २२ दिन लाग्थ्यो रे। तेस हिसाबले यो पर्खालको पल्लो छेउ पुग्न २ बर्ष २ महिना लाग्ने रहेछ। २ घण्टामा तल नपुगे त्यो चिनिया भोटेले हामीलाई छाडेर जानेछ। तेसैले शायद जुनिभरको लागि हाम्रो ग्रेट वाल संगको भेटलाई बिसर्जन गर्दै ओरालो झरेथ्यौं , मनभरी अतुलनिय स्‍मृतिहरु संगालेर।

Buckingham र अरु दरवारहरु अनी Art Museum हरु घुमिरहंदा तिमी मेरो कांधलाई आफ्नो अढेस बनाइ रहेथ्यौ। हामी London र पश्चिमी संसकृतिमा घोलिएको छाडापनले अचम्मित भएथ्यौं। फोटो खिच्न पनि संकोच लाग्ने मुर्तिहरु। आइफल धरहराको तल बसेर माथि टुप्पो तिर नियाल्दा त्यो कहाँ हो कहाँ बिलाएको थियो। स्कुलमा पढेको "पेरिस मुस्काउँछ रंगै रंगमा" को बयानसंग हामी त्यो धरहरालाई दाँजी रहेथ्यौँ। माथि चड्ने शाहस गरिनौ तिमीले र हामी बाटो लागेथ्यौं। हाम्रो रहरमा परेका हिट्लरले एहुदीहरुको बिनास गर्न भनाएको भट्टी र इजिप्टको बिशाल पिरामिड लाई थाती राख्दै पानी जहाजको तालिका भेट्न हामी पोर्चुगल को लिस्बोआ पुगेथ्यौं। जहाज भोलिपल्ट छुट्ने थियो। ५० युरोमा त्यो अन्तिम रात बितेथ्यो युरोपको - एउटा मध्यम स्तरको होटल।

र अन्तत त्यो दिन पनि आयो, हाम्रो बर्शौं देखिको सपना। पानी जहाजमा Atlantic पार गर्ने। लिस्बोआ देखी न्यु योर्क सम्म ४ दिन हामीले जामिन संगको संबन्धलाई बिच्छेद गर्यौं। बिशाल पानी जहाजले लिस्बोआ को जमिन-पानी किनारा छाड्दा १ बजेको थियो। जमिन माथिको भर छुट्दा संगै कता कता नजानिदो त्रास पनि अल्झिदो रहेछ। पानी मेरो तौल थाम्न सक्दैन र तिम्रो पनि। तर पनि उमंगको बाढि यती ब्रिहत थियो कि त्रासले कुनै असर देखाउन पाएन। आन्ध्र महासागरको अथाह जलरासीलाई चिर्दै चिर्दै जहाज पश्चिम तर्फ पौडिरह्यो, ११ सय मानिषहरु बोकेर। पचासौं गोराहरु, कालाहरु, मंगोलियनहरु र भारतीयहरु संग घुलमिल हुँदै हामी यात्रारत रह्यौं।

तेस्रो दिन थियो। हामी लन्चमा थियौं। हाम्रो टेबलमा आज कोही उदाएको छैन। एक्लै छौं। त्यो धेरै जसो हामीसंगै खाने फिलिपिनो जोडी पनि आज देख्दिन। हाम्रो छिमेकी रसियन केटिहरुपनि आज हराएका छन। यता उता आँखा घुमाएको; एउटा हप्सी देखियो - तिमीलाई नियालिरहेको, मेरो आंखा छल्न खोजेर। ऊ तिर संकेत गर्दै मैले भनेथें-

"उ त्यो काले अघी देखी तिमीलाई हेरिरहेछ, खुब मन पर्‍यो क्यारे।"
"छी कस्तो काले!"
"के भो त, दिल वाले जस्तो छ! बिहे गर्छौ?"
"कोही नपाएर तेही काले संग? फेरी हजुर पनि कस्तो आफ्नी बुढीलाई अरुले हेर्दा बिहे गरेर जाउ भन्ने। अरुका बुढा भए ..."
"अरुका बुढा भए के?" मैले बिचैमा रोकेथें।
"गएर पिटिदिन्थे नि, अरु के।"
"काटमारको कुरा चाँही नगरुम साथी। फेरी यो पानी जहाजमा भाग्ने ठाउँ पनि छैन। हेरेर के बिग्रियो त। तरुनि केटीलाई जस्ले नि हेर्छ।"
"भैगो भैगो कातर माहासय।"
"म कातर? छाड तेस्लाई अहिल्यै बजाइदिन्छु।"
"मैले केही रोकेकी छैन। हेरौं न त हामी पनि!"
"कस्ती मान्छे तिमी, झगडा गर्न उस्काउने। अरुका बुढी भए ..."
"मेरो डाइलग किन चोर्नु नि? के त अरुका बुढी भए?"
"उ त्यसरी माया गरेर बस्थे नि।" - दाँयांतिर जहाजको पारापेटमा अंगालो हालेर बसेका युगल खैरेहरुलाई संकेत गरेथें।
"अरुको के मत्लब हजुरलाई। किन हेर्नु पर्ने जे गरेनी। त्यो त तपाईं जस्तो डरछेरुवा छैन होला। आउला नी फेरी बजाउन।"
"लगाम छैन त अगाडि मात्र हेर्न। एसो टाउको घुमाउन पनि नपाउनु?"
"खै आउनुस् म बान्दिउला लगाम।"
"लगाम हैन यो चेन बानिदेउ त" - मैले मेरो फुस्किएको घडी र देब्रे हात अगाडि बढाए। दाइनेमा फ्राइड स्रिम थियो, मिठो।
"जस्तो मान्छे, उस्तै घडी। खुस्केट।" तिमी अझै पेल्दै थियौ। मलाई पनि। स्रिमका टुक्राहरु पनि।

न्यु योर्क पुगेकै दिन हामी ग्राउण्ड जिरोमा पुगेथ्यौं। एउटा बिशाल जेट प्लेनले दोस्रो टावर छेड्दा अर्को तिरबाट आगोका बिशाल डल्लाहरु उछिट्टिएका द्रिस्याहरु मानसपटलमा घुमिरहे। कती छिट्टै हटाइ सकेछन स्टिल र कंक्रिटको त्यो ब्रिहत पहाड। पत्याउनै गाह्रो - हो येहिं ति गगनचुम्बी युगल टावरहरु थिए, अस्ती भर्खरसम्म।

अनी म हार्भर्ड स्क्यायर जान चाहें, तिमी निआग्रा फल्स। हार्भर्डको मुर्तिलाई तिमीले पनि छोयौ, मैले पनि। निएग्राको मनमोहकतालाई मैले पनि चुमे, तिमीले पनि। अनी हामी आन्ध्र महासागरको किनाराबाट सोझै प्रसान्त महासागरको कीनारामा पुगेथ्यौं। सान फ्रान्सिस्कोमा मामली दाजुहरु कुरी रहनु भएथ्यो। जिम्मु झानेको दाल, बासमती भात, खसिको मासु, गुन्द्रुकको अचार। कतै हामी उही पूर्व ४ नन्बर आफ्नै घर पुगेका त हैनौं झैं। आफन्तहरुको आत्मियता र मिठो नेपाली भोजनले धेरै दिनको यात्राको थकानलालाई उसै बिर्स्याइदियो। भोजपुर देखी कथामान्डु सम्म अनी यात्राका अरु धेरै थरी कुराहरुमा आधारात सम्म हामी जागै थियौं - दाई भाउजु संगै। कती बेला निदाइयो पत्तै भएन।

ढकढक ढकढक। ढोका ढक्ढक्याएको आवाजले आँखा खुले। यातायुती हिरें। तिमी थिइनौ। सम्झें; हिजो night duty छ भन्दै थियौ। रातभरी सबै निद्रा र थकान बिर्सेंर यो बिरामी र ऊ बिरामी बिच ओहोर दोहोर गरिरही हुन। अब त बिरामीलाई बिहानिको दवाइ खुवाउने बेला पनि भयो होला। उनले हस्पिटलको ड्युटिमा बिताएको एउटा अनिदो रातभरमा मैले सम्पूर्ण विश्व घुमिदिएछु, उनी संगै। ओछ्यानमै पल्टिएर सपनिको रमाइलोपनालाई बिपनिमा बोध गरिरहेथें; खुनहरु कोठा सफा गर्न आएका रहेछन। लुगा फेरे, तेही पुरानो साइकल पक्डिएं र सिधै क्याम्पस तिर बतासिएं। सपनाका झल्कोहरुले सताइरह्यो। कुनै काम गर्ने जांगर नै भएन। लन्च गएं, २५ भाटको दाल-भात। १ बजे कोठा फर्किएं र हिजोका सपनाहरुलाई यि पानाहरुमा उतारिरहें। अहिले ९ बजेर १० मिनेट गएछ। यसरी ८ घण्टा र १० मिनेट निरन्तर मैले मेरा सपनाहरुलाई यि पानाहरुमा उतारें मेरी राम प्यारीका लागि। म कामना गर्छु, मेरो सपना पुरा होस्। र म कामना गर्छु, मेरी राम प्यारी सदैब खुशी रहुन।

अबिरल स्‍मृति र न्यानो माया शाहीत, तिम्रै हजुर।

सुर न ताल।