Friday, September 19, 2014

सि. के. लाई सन्देश

प्रिय साथी चन्द्रकान्त,

अभिवादन।

आज तिमीलाई सम्झें। र सम्झें मध्यरातमा ताराहरु गन्दै संगसंगै सुसेली हालेको। अनी सम्झें क्यामपसका स्वागत कार्यक्रमहरुमा संगसंगै रमाएको र कयौं सांझहरुमा संगसंगै खाना पकाएको। तिमीले पकाउने गरेको पनिरको तरकारी अझै जिब्रोमा झुन्डिरहेको छ।

पश्चिम अमेरिकामा रातको नौ बज्यो। छोरो सुत्यो। अर्धाङिनी अस्पतालका गल्लिहरुमै ब्यस्त भईन। म एक्लै भए। र मनमा कुराहरु खेली रहे।

बिचार, भावना, उत्तेजना र Ideology तिम्रा आफ्नै छन, र मेरा पनि, शायद। यसबारे एकैछिनमा कुरा गरौंला। तर मेरो एक आत्मिय मित्र हिरासतमा दिन बिताइरहेछ भन्ने सुन्दा नराम्रो लागेको छ। अहिले तिम्रो सामु त्यो खुल्ला आकाश छैन जो हामीले इन्जिनियरिंग पढ्दा र पढाउंदा बांडेका थियौं - क्याम्पसका बगैंचाहरुमा, छात्रावासका छतहरुमा, फुटबल र क्रिकेटका मैदानहरुमा र उपत्यकाका सैकडौं गल्लिहरुमा।

पहिलो पटक कहाँं, कहिले र कसरी भेट भयो तिमीसँग भन्ने त सम्झिन्न। तर एउटा सालीन, सुलभ चेहरा र अग्लो कदको म्रिदुलभाषी मधेसी २-४ दिनमै यो पाखे पहाडीको आत्मिय मित्र बनिसकेको थियो।

उपत्यकाका हाम्रा सुरु-सुरुका दिनहरु उस्तै उस्तै बितेका होलान। मान्छेहरु असमन्जस लाग्थे। सडकहरु उराठलाग्दा, उदासिन। अनी कक्ष्या कोठा उदेकलाग्दो। म यो मान्दछु कि मात्रा फरक थियो। तर हामी दुबै एक हदसम्म उपेक्षित थियौं, नयाँं परीवेसमा।    

तर त्यो भन्दा माथि उठेर अनगिन्ती खुशीहरु पनि बांडेका थियौं, हैन र! तिमी गीतारमा गुनगुनाउंथेउ; म मादलमा लोक भाकाहरु हाल्थें। पिडाहरु तेसै बिलाएर जान्थे - सांझको मन्द पवन सँगै।

थोरै दिनमै म तिम्रो बहुमुखी प्रतिभा र पढाई अनी अतिरिक्त कृयाकलाप प्रतिको लगनसिलताले औधी प्रभावित भईसकेको थिए। र सदैव तिम्रो शुभचिन्तक रहिरहें। तिमी ओभरसियरमा संस्थानकै उत्क्रिस्ठ विद्यार्थी बन्दा वा त्यसै बर्ष इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गको लागि छनौट हुँदा वा जापानी छत्राब्रिद्धी पाउंदा वा क्याम्ब्रिजमा बिद्यावारीधी गर्ने अवसर मिल्दा; तिम्रा सबै सफलताहरुमा म हर्सित थिएं। उमंगित थिएं।
---------------

साथी, तिमीले अव प्रमाणित गर्न केही बाँकी रहेन। तिम्रो प्रतिभाको र नेत्रित्व क्षमताको पनि। बिहान बेलुकाको समस्यासँग जुध्दै भारदह बाट पुल्चोक, त्यहाँ बाट टोकियो अनी क्याम्ब्रिजसम्म सदैवा सर्बोत्क्रिस्ठ रहेउ। उच्च तहको बैज्ञानीकको रुपमा Raytheon BBN Technologies मा काम गर्दा तिमीले बिकास गरेको भाषा उल्था गर्ने प्रबिधीली अमेरिकि रक्षा बिभागलाई आन्तरिक सुरक्षा र बाह्य आतंकवाद सँग लड्न धेरै सहयोग पुर्याइरहेको होला।

अझ ठुलो कुरात संसारकै सम्भ्रान्त देशवाट भौतिक र ब्यबसायिक तवरले उत्क्रिस्ठ जीवन सैलीलाइ चटक्कै छाडेर, परिवार र सन्ततिको भविस्यलाई समेत दाउमा राखेर आफ्नो मातृभूमी फर्किनु जो कोहिको बसको बिसय हैन। तिमीले Boston छाडेर नेपाल फर्कने कुरा सुनाएको दिन औधी खुशी लागेको थियो कि देशले एउटा होनहार सपुत फिर्ता पाएको छ। तिमीले निस्वार्थ भावले समाज, सम्प्रादाय र राष्ट्रको लागि जीवन समर्पण गरेका छौ। त्यस्ले तिमीलाई राष्ट्रिय ब्यक्तित्व बनाउने छ।

तर फरक यत्ती पर्यो; तिमीले र मैले देखेको राष्ट्र भिन्न रहेछन। दुर्भाग्य भन्ने कि अफसोच।

------------------------
साथी,
तिम्रो ब्यक्तित्वलाई लाखौं नेपालीले सम्मान गर्छन्। म र म जस्तै पहाडी पनि; तिमी जस्तै मधेशी पनि। तिम्रो बिचाराधारालाई पनि कतिले सद्भाव राखेको देखियो। तर म सहमत हुन सकिन। साथी, तिम्रो मार्गदर्शणले बढीमा देशमा गृहयुद्ध निम्त्याउने मात्रै हो भन्ने लाग्छ मलाई। पारीणाम के? हाम्रा घर, गाउं र शहरहरु जलाएर खरानी बनाउनु बाहेक!

तिमीले बर्षौ सम्मको सोच, खोज, अनुसन्धान र धेरै तहका छलफल र वादविवादबाट यो बाटो रोजेका हौ। त्यसमा मेरो कुनै सन्का छैन। तिमीलाई धेरैले आफ्ना असहमती र सुझावहरु उहिलेनी राखे होलान, अहिले नि राखिरहेकै छन। तर पनि म एउटा साथीको कर्तब्य सोरुप तिमीलाई पुन: तेही कुरा अनुरोध गर्न चाहन्छु- "नेपाल सगोलमा उत्क्रिस्ठ छ; नकी मधेश र पहाडका टुक्राहरुमा।"

साथी,
तिम्रा तिता अनुभुतिहरु म महसुस गर्न सक्छु। तिमीले भोगेको, प्रडापित भएको, हेपिएको, तिम्रो आत्मा मा घाऊ लागेको, आफ्नै देशमा बिरानो महसुस गरेको आदि इत्यादि सबै बुझ्न सक्छु.  तिम्रा भावनाहरुको कदर गर्न सक्छु। तर ति देश टुक्र्याउने उपादयता बन्न सक्दैनन। यही मेरो आग्रह हो। ईतिहासका पाटाहरु तिता मिठा कस्को भागमा के पर्यो; त्यो बिगत हो। यो बेला अगाडी बढ्ने हो। यो देश बनाउने बेला हो। समयले रचनात्मक उर्जा मागेको छ, हामीसबै बाट।

केहि सामाजिक कुरीतिहरु पहाडमा पनि छन,  केही मधेशमा पनि होलान।  केही  खराब  नियतका  मान्छेहरु पहाडमा पनि छन;  केही  मधेशमा  पनि  होलान।   यस्ता कुरिती र बद्नियत  हरुको अन्त हुनुपर्छ।  तेस कुरामा विवाद हुँदै होइन। कैयौ गरीब मानसिकताको उपजमा म पनि परेको थिए र बेला मौका अझै हुन्छु; पाखे मान्छे; तर तेसैमा द्वेश पालेर बस्नु भन्दा क्षमा गर्दै अगाडि बद्नु मै मैले सबैको भलो देखेने गरेको  छु। यस्ता समस्याको समाधानको लागि देशनै अलग गर्ने तिम्रो विचार संग सहमत हुनेहो भने त मधेशमै पनि दर्जनौ टुक्रा जन्मिने भए; पहाडमा अरु दर्जनौ बन्लान। तेसो भये फेरी बाइसे चौबिसे राज्यहरुमै  फर्कने त हामी? उसै पनि सैयौ बर्ष पछाडि परेको राष्ट्रलाई अझै सैयौ बर्ष पछाडि धकेल्ने त हामी? साथी यो देश फोड्ने बेला हैन, एक आपसमा सद्भाव राखेर देश सिङारने बेला हो?

गहिराइ फरक होला। तर असमानता देशब्यापी छ। रोग, भोक र गरीबी पहाडमा पनि छ, मधेशमा पनि। डोल्पा का निमुखा गाउंलेहरु पनि राज्यवाट उपेक्षित नै छन, जसरी सप्तरीका गरीब परिवारहरु। यो बेला भनेको सम्यमित भएर जातिय, भाषिक, धार्मिक, साम्प्रादायिक र भौगोलिक शाहीष्णुतामा खलल नअाउने गरी आ-आफ्नो हक, अधिकार र कर्तब्य सुनिस्चित गर्दै जाने हो। समतामुलक समाजको सुनिस्चितताको लागि हातेमलो गर्दै अगाडी बड्ने हो।

देश संघियता तर्फ होमिएकै छ। नयाँ संबिधानको लागि कछुवाकै तालमा भए पनि काम भईराखेकै छ। माने, संबिधान सबै कुरा हैन। यो कुनै बेला पनि फेरिन सक्छ। तर सैयौ बर्ष देखी कायम रहेर देशको समुन्नती देखेका संबिधान पनि त छन संसारमा। किन अहिलेको हाम्रो मौका लाई त्यस्तै कालजयी संबिधान, जस्ले समानता, ब्यक्तिगत स्वतन्त्रता र स्वायत्तता सुनिस्चित गरोस् सबै देश बासिहरुलाई, बनाउन तिर सदुपयोग नगर्ने।

----------------------------
मधेश, पहाड र हिमाल मिलेर नै हाम्रो गौरव बढेको छ, सिर ठाडो भएको छ; र अनगिन्ती अवसरहरु मिलेको छ; समुन्नत राष्ट्र निर्माणका लागि। कुनै दिन आफ्ना ब्यक्तिगत आवश्यकताहरु, महत्वकांक्षाहरु, र स्वार्थहरु त्याग्न सके म पनि नेपाल फर्कुंला - कांधमा कांध मिलाउन। तेसो गर्न नसके पनि नैतीक र अन्य सहयोग देश बिकासका लागि गरिरहनेनै छु। तिमी, म र अरु हामीजस्तै युवा मिलेर रचनात्मक काममा लाग्ने हो भने यती धेरै सम्भावनाहरु बोकेको हाम्रो देश बनाउन धेरै समय लाग्दैन। जव देश सम्ब्रिद्ध हुँदै जान्छ, बिभेद र असमानता पनि हराउदै जाने हो।

मिलेर हामी मधेशमा सुनौला बाला झुलाउंला; पहाडमा माटो सुहाउंदो नगदेवाली फुलाउंला; हिमालमा जडिबुटी मौलाउंला। र संसारभर निर्यात गरौंला। मिलेर हाम्रो ज्ञान, सिप र अनुभवले मधेशमा अत्याधुनिक कलाकारखाना बनाउंला; सदाबहार हिमनदी हरुबाट पहाडमा हजारौं मेघावाट बिजुली निकालौंला र मधेशका कलकारखाना चलाऊंला। मधेशदेखी पहाडहुँदै हिमालका काख काखसम्म दर्जनौ नागबेली, पर्यटकिय (scenic) राजामार्गहरु बनाउंला। कोशी, नारायणी, गण्डकी, कर्णालीका फाटहरुमा अदितिय बन्यजन्तु र बनस्पती सम्रक्षण स्थलहरु बनाउला। अनी हाम्रो पर्यटन उध्योग संसारकै सर्बोत्क्रिस्ठ हुन कती बेर।

अझ हामी लुम्बिनिमा बौद्ध विश्वाबिध्यालय बनाएर संसारभरीकै बुद्ध धर्म र सन्स्कृति सम्बन्धी खोज, अध्ययन र अनुसन्धान केन्द्र बनाउंला। कर्णाली विश्वाविध्यालयलाई संसारकै उत्क्रिस्ठ जडिबुटी र बैकल्पिक चिकित्सा केन्द्र बनाउंला। हामीसँग यि अद्भुत अवसरहरु उपलब्ध छन; किनकी हामीसँग मधेश, पहाड र हिमालको अलौकिक समिस्रण उपलब्ध छ। साथी, तिमीले सग्लो नेपालको उन्नतिका लागि अगुवाइ लिनुपर्थ्यो; तर अझै पनि केही बितेको छैन।

------------
मेरो बाल्यकाल र युवा अवस्थामा दुइजना आदर्श ब्यक्तिहरु थिए, जस्ले जीवनमा दुरगामी छाप छोडेका छन। सानैमा एउटा बिज्ञान पढाउने शिक्षक हुनुहुन्थ्यो। B.Sc. Sir - महेन्द्र यादव। उनको सालीनता, सद्भाव, सह्रीदयता, मायां र मधेश बाट पहाडी भिर पाखा सम्म उक्लेर गरेको सेवा सदैव सम्मानजनक र प्रेरणादायी रहिरहे।

अनी अर्को तिमी। जो अझै कायमै छ। कालन्तरमा आएको बैचारिक भिन्नताले उहिले रोपिएको आत्मियताको जरा उखेलिने हैन। तर फेरी पनि आग्रह छ - तिम्रो अहिलेको मार्गचित्रले हामी सबैलाई खाडलतिर धकेल्ने चेस्टा गर्ने हो।

मलाई मेरा आदर्श ब्यक्तित्वहरुको छालाको रङ, बोलिको लवज, अर्थिक सामाजिक परीवेस, वा जात, जाती, धर्म, भाषा, सम्प्रदाय वा भुगोल आदिमा रहेको भिन्नता ले अरु कुनै माने राखेन; सिवाए तेस्को सम्मान। म जस्तै पचासौं लाख पहाडी र मधेशी होलान, जो भिन्नताको सम्मान गर्छन् र तेसैमा रमाउछन। त्यसैमा आदर्श छ र राष्ट्रको पहिचान। हो यसका बावजुद भेदभाव भएका थिए र छन। तर बाटो तेस्लाई हटाएर सबैको साझा फुलबारी निर्वाण गर्ने तर्फ हुनुपर्छ, मेरो पनि र तिम्रो पनि।

-----------------------
यो टुटाउने बेला हैन; जुटाउने बेला हो!
यो फुटाउने बेला हैन; बनाउने बेला हो!
-----------------------

अन्तमा, छिट्टै तिम्रो रिहाई को अपेक्षा गर्दै...

साथी मनोज

No comments: