Monday, November 15, 2010

माध्यामिक शिक्षा: सफल भविस्यको पुर्वाधार

१७/१८ बर्ष अगाडिको एउटा बिहानीलाई सम्झन्छु: एक निम्ठो घास काटेर पेटिमा बिसाइ भात खाइओरी उकालो लाग्दा ९:०० बजेको हुन्थ्यो। देउरालीसम्म गतिलै उकालो, अनि तेर्सै तेर्सो र डाँडागाउको ओरालो झरेपछि प्रांगणमा पुग्दा ठीक्क लाइन बस्ने बेला भएको हुन्थ्यो। चन्द्र सरको पहिलो घन्टी, महतसरको दोस्रो हुँदै टिफिन, तेस्मा लुच्चेको पिप्सा (म सँग उस्को अर्को नाम छैन, तर यो नाम म आदरपुर्वक प्रयोग गरिरहेको छु), एउटा सानो सिंखडा र एकैछिन भलिबल; अनी ५, ६ र ७ घन्टी पढेपछि फेरि डांडागाउको उकालो, अनी तेर्सो, अनी ओरालो हुँदै घर पुग्दा ५ बज्थ्यो। मकै-भट्मास र एक गिलास महीले माथ्लो टाहारमा १ घन्टा मोजा बेरेर बनाएको भकुन्डो उफार्न पुग्थ्यो। सांझको भात पछि लाल्टिनको ओरिपरी बसेर सुरु हुन्थ्यो ग्रिहकार्य; १-२ जना अरु साथिहरुसंगै। बिचमा निद्रा भगाउन बुधिचाल खेल्थ्यौ र प्राय: रातीको १२ बज्न लागेपछी मिठो निद्रा देबीको काखमा! र फेरि अर्को नयाँ बिहानि, प्राय: पुरानै रङमा पोतियर आउथ्यो।
---------------------------------------

२०५० साल माघ २८ गते देखि २०६७ साल कार्तिक २५ गते सम्म; यी हरफहरु लेखिरहदा मैले औपचारिक रुपमा बिधोदय छाडेको १७ बर्ष भएछ। एउटा लामो काल खन्ड बित्यो यो बिचमा; देश् हिम्सा र प्रति हिम्साका स्रिन्खलाहरु पार गर्दै एउटा असम्न्जस परिस्थितिमा उभिएको छ (मेरो तात्पर्य राजनैतीक बिस्लेषण भने हैन, खाली प्रसंग मिलाउन खोजेको मात्रै हो); मैले एस.एल.सी. दिदा जन्मिएका भाइ-बहिनिहरु एस.एल.सी. पास भैसकेका छन; मटितेलमा बिउझिने हाम्रा भोजपुरे सांझहरु राष्ट्रिय ग्रिड्मा जोडिएको बिजुली बत्तिमा उज्यालिएका छन्; उकाली-ओरालि र भिर-पाखा पार गर्दै बहु-प्रतिक्षित मोटरबाटो गाउगाउ फैलिदैछ। कतिपय बिद्यार्थीहरुसँग त अब कम्प्युटर र इन्टरनेट पहुच पनि होला। संगै बिध्यालयले पनि धेरै भौतिक, प्रसासनिक, साँस्कृतिक र सामाजिक परिवर्तनहरु अंगालीसकेको होला। मैले अन्तिम पटक २०५५ सालतिर बिध्यालय भ्रमण गर्दा प्रांगणको दक्षिण तिर एउटा तुलनात्मक हिसाबले आधुनिक भवन बनिसकेको थियो। त्यो एउटा खुसीको कुरा थियो की जिर्ण हुँदै गएको बिध्यालयको भौतिक संरचनामा सुधार आएको थियो। तर मलाइ कता कता नरमाइलो पनि लाग्यो; यसमानेमाकी मेरो सम्झना सँग गासिएका धेरै अभयवहरु मासिदै थिए र बिध्यालय कता कता मेरो लागि बिरानो हुँदै गएको भान हुन्थ्यो (सायद म गल्ती थिए, किन भने भावना भौतिक संरचनामा मात्रै सिमित हुदैन)। यो र अरु यस्तै भौतिक बिकासले बिध्योदयलाई सम्ब्रिध्द बनाउदै लगेका होलान भन्ने मेरो कामना छ। यधप्पी त्यो प्रमुख भवन र यसको फुलबारी, पस्चिमतिरको कक्षा कोठा भवन, डिलको लाकुरी र त्यसको छाया, तल्लो गराको कोठे रिङ्ग र अझ तल्लो गराको ठुलो चौरमा खेलिएको चु-उ-उ-उ सम्झनामा फुलिरहनेछन। र यी सबै भबुकताहरुलाई छोडेर; बिधोदय र अरु देसभरिका बिधालयहरुले अर्को अझ महत्वपुर्ण परिवर्तनलाई अङालेका होलान, त्यो हो पढाइने पाठ्यक्रम र पठन-पाठन सैलीको परिवर्तन। म अनुमान लगाउन सक्छु, यी सबै परिवर्तनहरु बीच अहिलेका स्कुले छात्र-छात्राको दैनिकी पनि धेरै परिवर्तन भैसकेको होला; जो मेरो १७ बर्ष अगाडिको दैनिकी सँग एकछेउ पनि नमिल्दो हुन सक्छ। तथापि, यी सबै परिवर्तनहरुबिच पनि, एउटा कुरा भने अपरिवर्तनिय छ; बिधोदय र उस्तै अरु मध्यामिक बिधालयहरुमा हामीले हासिल गर्ने सिक्षाले हाम्रो भविस्यमा पार्ने दुरगामी प्रभाव।
--------------------------

मेरो आफ्नै अनुभवको कुरा गर्छु, अवस्यै पनि अरुको अनुभवबारे त कुरा गर्न पनि त सकिएन। यो अन्तरालमा मेरो ब्यक्तिगत, सैक्षिक र ब्यबसायीक जीवनमा पनि धेरै आरोह-अवरोहहरु, उतार-चडावहरु र मिठा-नमिठा परिवर्तनहरु आए। स्कुल पछिका पहिला ३ बर्ष Overseer पढ्नमा बिते, तेस्पछी १ बर्ष पस्चिम नेपालमा स्वास्थ्य चौकी निर्माण अवलोकनमा बित्यो। अर्को बर्ष पुन: काठमाडौं फर्किए र कम्प्युटर ईन्जिनियर बन्नलाई ४ बर्ष बिताए। तेस्पछी १ बर्ष एउटा क्याम्पस मा पढाए र अर्को बर्ष Master तहको अध्ययन गर्न थाइल्याण्ड पुगे। अनि अर्को ४ बर्ष अमेरिका मा PhD तहको अध्ययन र अनुसन्धान गर्न बिताए। भर्खरै देखि यहिको एउटा बिस्वबिध्यालयमा (Washington State University) प्रोफेसरको रुपमा अध्यापन र अनुसन्धान गरिरहेको छु। र मैले उठाउन खोजेको कुरा चाहि के भने म जहाँ पनि गए र जे पनि गरे, बिध्योदयमा सिकेका बिसयगत ज्ञान, समस्या समाधानको सिप र सहि-गलत छुट्याउन सक्ने दक्षता जस्ता कुराहरुले अधिकतमा सहयोग पुर्याइरहे। केही उदाहरणहरु हेरौ। Overseer पढ्दा र पछि काम गर्दा घरको नक्सा बनाउन र निर्माण सामाग्री अनुमान लगाउन अनी अरु धेरै बिसयहरुमा गणितका सबै अभ्यासहरुले सहयोग गरे। ऐक्षिक गणितमा सिकेको Mean, Median र Frequency मेरो सबै तहका अध्ययन-अध्यापनमा उपयोगी रहे। र अझ धेरै उपयोगी चाँही मैले अहिले गरिरहेका सबै अनुसन्धानहरुमा भैरहेछ। 'उचाइ र दुरी' भन्ने अर्को अभ्यास थियो ऐक्छिक गणितमा, जो म Satellite बाट खिचेको फोटोमा देखिएको बस्तु कति ठुलो छ भनेर निकाल्न प्रयोग गर्छु। बिज्ञानमा सिकेको चालको तिनवटा नियमहरु हर्दम प्रयोगमा आइरहन्छन्। जस्तोकी म नयाँ कार डिजाइन गर्दा कार कति छिटो रोक्न सकिन्छ भनेर हिसाब गर्न F = ma प्रयोग गर्छु। अङ्रेजी र नेपालीमा सिकेका ब्याकरण र साहित्यहरुले सदैब राम्रो लेखेर प्रतियोगिताहरुमा अगाडी पर्न मद्दत गरिरहे। र जिवन पर्यन्त साहित्य र संगितप्रतिको माया र सद्भाव पनि श्रीजना भयो (www.manoj-karkee.blogspot.com)। र अझ महत्वपुर्ण कुरा चाँही के भने स्कुलमा समेटिएका बिषयहरुको राम्रो दक्षताले क्याम्पस र बिस्वबिध्यालयमा पढाइने नयाँ बिसयबस्तु बुझ्न र अरु सहपठीहरुसँग प्रतिस्पर्धी भैरहन सक्षमा बनायो।
-------------------

अर्को एउटा महत्वपुर्ण कुरा के छ भनेकी हामी सरकारी बिधालयमा पढेका विद्यार्थीहरुको आफैलाई क्षमा दिने र भएकैमा चित्त बुझाउने बानी हुन्छ - "म सरकारी स्कुल पढेको मान्छे, मेरो अङ्रेजी राम्रो छैन, तेसैले म उनिहरुसँग प्रतिस्पर्धा गर्न सक्दिन; वा म जे छु त्यो पनि ठुलो कुरा हो।" आदि आदि। मैले देखे बुझेसम्म सरकारी स्कुल पढेका ब्यक्तिहरु विश्वको सबै कुनामा सबै प्रकारका काम गरेर उत्क्रिस्ठ भएका छन्; चाहे त्यो संयुक्त राष्ट्र संघ होस् वा अमेरिका र संसारकै सबैभन्दा राम्रो मध्यको बिस्वबिध्यालय (Harvard University) होस्। त्यसैले सरकारी स्कुलमा पढेको भनेर गर्व गर्दै अलिकति मेहेनत गर्ने हो भने, बिधोदय वा अरु कुनै बिध्यालयले सिकाउने अङ्रेजी संसारभरी जहासुकै पनि प्रतिस्पर्धी बन्न प्रसस्त हुनेछ। र फेरि एक्पटक परिवर्तनकै कुरा गरौ; अर्को एउटा प्रमुख र नमिठो परिवर्तनलाई पनि अत्मसाथ गर्नै पर्यो, त्यो हो चड्दै गयेको बुढौली। मनमा उतिबेलाको जस्तो जोश र तनमा उतिबेलाको जस्तो जांगर त अब रहेन। तर ती जोस र जांगरहरुलाई सकेसम्म सदुपयोग (उपयोग मात्रै पनि हुन सक्छ) गरेर जम्मा गरेको सैक्छिक योग्यता र हासिल गरेको सनोतिनो प्राबिधिक र ब्यबहारिक ज्ञानले भर्थेग गरिरहेका छन् र गरिरहने छन भन्ने लाग्छ। बिध्यालयमा सिकेको र जानेको कुराहरुलेले यो अबस्यम्भावी परिवर्तनलाई सहज बनाउन धेरै सह्योग पुर्याउने रहेछन।

---------------------------------------

छोटकरिमा भन्नुपर्दा माध्यामिक बिधालय भविस्वमा ब्यक्तिगत र ब्यबसायिक तवरले सफल हुन आवस्यक ज्ञान, सिप, अनुसासन, समाजीक र मनविव मुल्य-मन्यताहरु, संस्क्रिती, भाषा र साहित्यको बलियो प्रिस्ठभुमी तयार गर्ने अत्याधिक महत्वपुर्ण ठाउँ हो। सबै विद्यार्थीहरुले यो अवसरको सदुपयोग गर्दै सुनौलो भविस्यको लागि सक्दो मेहेनत गर्नु पर्छ।

------------------------------
पुनस्च: मेरो मनसिकतामा अझै पनि बिध्योदय मा. बी. नै छ र मेरो यो सानो टुक्रा लेखका पाठकहरु पनि उनिहरुनै हुन भन्ने कल्पना गरियको छ। शायद यो सोचाइ 'साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ' भने झै भएको होला। परन्तु, मैले मा. बी. बाट उच्च मा. बी. हुनु सुक्खा (हरियो को बिपरितार्थ) हुनु हो भन्ने कदापी ठानेको हैन, बरु अझ धेरै हरियो हुनु हो भन्ने चाँही ठानेको हु।

Monday, March 30, 2009

सन्कल्प

न मैले कतै सपना बुने
न मैले कही बिपना भुले
तै पनि जीवन उदासी हुने
खै कुन बिरानो गीत यो सुने!



निस्छल जीवन सुसाएकै थियो
टुकी कै उज्यालो प्रसस्त थियो
तिमी हिउदको घामझै अस्तायौ
पुरानो जीवन कहाँ खोजु भयो!

बर्षा ठाने हरियाली दिने
खहरे रहेछ उर्लिएर जाने
घरबारी अब बगर सरी भो
कहाँ कसरी फोगटा बिराउने?

न मैले कतै अबिश्वास रोपे
न मैले कही ढोका यो थुने
तिमीनै थियौ लीलामी हुने
निरस अब म किन रुने?

Pic Source: http://imagecache.allposters.com/images/pic/APG/F102343~Determination-Little-Pine-Posters.jpg

Sunday, March 15, 2009

एक दिनको कुरा - शुभकामनाको।

"शुभकामना - नयाँ बर्षको।" उनि हात हल्लाउछिन। म सोच्छु। 'शुभकामना!' एउटा पालिस लगाएको शब्द। एउटा खोक्रो औपचारिकता। शायद समय नै पालिसको। आडम्बरको। औपचारिकताको। अझ एउटा फेसन। सस्तो तथाकथित आत्मियता।

नयाँ बर्ष। समय। जन्मदिन। जिन्दगी। नरमाइलो संसार।
अबिश्वास। मेरो उनी प्रती। उन्को म प्रती।
संका। तेही शुभकामनामा पनि। उनी पालिस फुकालेरै उपस्थित हुन! म पालिसको चस्माले अल्पन्धो छु। उनिपनि।
घात - प्रतिघात - विश्वाशघात। आफन्तबाट पनि। अन्जानबाट पनी। म घात पाउछु। पचाए पनि त हुने। म बदला सोच्छु। प्रतिघात। उनिपनि।
विश्वाश जही तही डग्मगाएको छ। तिम्रो मधुर मुस्कानमा पनि म सकुनिका राजनीतिहरु देख्छु। र तिमिपनि। कती विवस जिन्दगी। कसैलाई चाहेर पनि अंगालन नसक्नु। कतै पछाडिबाट छुरा खोचिएलाकी।

र यस्तै निरासाहरुमा म तिमी पाउछु। हिउदे गहुं बारीमा मुस्किलले बर्सिएको एक झर जस्तै। जीवन अलिकती रसिलो बन्न खोज्छ। धन्यवाद तिमीलाई। साधुवाद तिमीलाई। तिमी सधैं आइरहु। निरन्तर आइदेउ। हिउदको एकझर मात्र हैन। बर्खा को अबिरल झरी बनेर आउ। जिन्दगी पर्खाइ हो। म तिमीलाईनै पर्खि रहन्छु। मात्र यो एक हिउद हैन। म सयौं सिसिर र बसन्तहरु कुरिरहन्छु। अर्को बर्खाको आकंक्ष्यामा।

सानैमा। मन चन्चले र अबोध नै हुँदा। लाग्थ्यो जीवन सुनकोशी हो। स्वच्छ। सुन्दर। सफा। निर्मल।
तर आज योवनमा। मन भाबुक हुँदा। चेतनामा अलिकति बिउहरु अंकुरायपछि। लाग्छ जिन्दगी वागमती बनिसकेछ।


वाग्मती एकाइसौ सताब्दिको तन्नेरी/तरुनी हो। भावना बिहिन। मानवता बिहिन। प्रदुशित। कलुशित। दुर्गान्धित।
तेसैलेकी मानव मुटु र मानवताहरु फोहरका कन्टेनरहरुमा फ्यालिएका छन। तिम्रा पनि। मेरा पनि। मन र भावनामा बिष्णुमती मिसिएकी छिन। तिम्रो पनि। मेरो पनि। यधप्पी म भावनाबिहिन जिउदै छु। हजुर; पलिस लगाएको शब्दमा, नत्र तं, तिमी वा पराकास्टमै पुगे तपाईं; जिउदै हुनुहुन्छ - धड्कनबिहिन। संसार निर्जिव बांचिरहेछ।

र मेरो मनको बिष्णुमती तिम्रो मनको बागमती संग मितेरी गास्न खोज्दछ। आखिर म एउटा सामान्य मान्छे। तिमी जस्तै। कुनै देवता ओकल्न सक्दिन। मनको स्वार्थ लुकाउन सक्दिन। र प्रस्फुटित हुन्छु। "तिमी सदा हाँसिरहु। मेरो पनि शुभकामना। नयाँ बर्षको।"

Monday, December 15, 2008

घोकाइ २: म पेन्डुलम मन पराउँछु।

अनायास आज मेरा बिगत देखि वर्तमान सम्मका घोकाइहरु याद आइरहेछन। कुनै बेला थियो; च्याख्ला कसरी पकाउने भनेर निम्न माद्यामिकका पाठ्यपुस्तकहरु घोकिरहेथें - पाक शिक्षा। अलि पछि माद्यामिकमा आएर धनुस्टन्कारका लक्षणहरु र मस्तिस्कज्वोरोका कारणहरु घोकियो। संगसंगै आलुमा लाग्ने रातो कमिलो र गाइ-भैंसीमा लाग्ने खोरेतका उपचार पद्धतिहरु घोकियो। चन्द्र ग्रहण र प्रकाश वर्षका पारिभाषाहरु पनि बुनिए, ति कलिला मानषपटलहरुमा। उ बेला दिमाग पनि अलि धारिलो नै थियो क्यारे, सयौँ रोगहरुका २०औँ लक्षण र उपचारका क्रमांकहरु कण्ठस्थ हुन्थे।

अलि पछी महाबिद्यालयका पहिला-पहिला दिनहरुमा प्रिज्म र कोनका पारीधीहरु घोकियो - मेन्सुरेसनमा। अझ पछी घर, सडक र पुल-पुलेसाका नाप-जोखहरु घोकियो; पैसा र पदार्थका परिमाणहरु, थिओडोलाइटको बबल, र २ नम्बर चाल्नोका छिद्रहरु नियालेर धेरै बर्षहरु बिते। विश्वबिद्यालयमा घोक्ने बिषयवस्तुहरु अझ फरक पर्दै गए। ठुला ठुला घर र पुलहरुबाट म अब सानो भाडोमा सिमित भए: १४" को CRT र १४४ बर्ग इन्च को प्रसोधक यन्त्र यानि CPU; सयौं algorithma हरु र तिन्लाई कार्वान्वन गर्ने सफल-असफल प्रयासहरु संगै उमेरका धर्साहरु कोरिदै गएथे र पावर चस्माले अब तं उही बिद्यालयमा पिप्सा चपाउदै कोठे रिंगमा सुन्तलीलाई छेकिरहेको किसोर रहिनस भनिरहेथे।

विश्वबिद्यालयका माथिल्ला तहहरुमा घोक्ने पाठ्यक्रम अरु परिवर्तन भए। भु-उपग्रह प्रक्ष्यपणका तरिकाहरु; तिनले पछ्याउने बाटोहरु; तिनिहरुमा जडिएका यन्त्रहरु; तिन्ले पढाएका तस्बिरका बिस्लेषणहरु र अनी कसरी म कृष्णभिरको पहिरो (शायद अहिले त्यो असान्धर्विक भईसक्यो कि; भन्छन नि साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ) लाई यि उपग्रहहरु प्रयोग गरेर अवलोकन गरुंला भन्ने तौर-तरिकाहरु। जीवन तेत्ती घोकाइहरुमा खुशी रहेन; घोक्ने भोक अब अर्को दिसा तिर लम्कियो; गोलार्धको अर्को पाटोमा। आजकल म बडेमानको एउटा ट्र्याकटर घोक्छु; घोकाइमा तुक धेरै नहोला; तर एउटा नितान्त नौलो घोकाइ। भु-उपग्रहका ठुला ठुला कुरा बाट पुन: म धर्तिको स-सानो कुरामा ओर्लिएको छु। हुनत: यो डियर भन्नेको ट्र्याकटर पनि सानो छैन; मेरो गाउँको २ तले घर जत्रै होला; एसो बिचरा गर्दा।

र २७ बर्ष भरिको अबिरल घोकाइपछी म एउटा ट्र्याकटर ड्राइभर भएको छु। प्रत्यक चिसा बिहानिहरुमा म मतान बाट तेस्लाई निकाल्छु; ठुलो फांटमा पुर्याउछु; कहिले आँफै steering घुमाउछु; कहिले मेरो सानो कम्प्युटर प्रोग्रामलाइ अह्राउछु; यता लैजा र उता लैजा भनेर अनी कता गईरहेछ भनेर अबलोकन गर्छु। सुर्यको प्रकाश धमिलिदै गएपछी पुन: म कम्पुटरबाट ट्र्याकटरको कब्जा आफ्नो हातमा लिन्छु र मतानमा फर्काउछु; सुस्तरी; पछाडितर्फबाट। मानौं उसरिनै; जसरी म 'तारे' र 'माले' गोरुलाई बिहानै फुकाउथें; हलो काधमा राखेर टाहारबारी तर्फ धपाउथें; दिनभर ह-ह-तारे-ह-ह-होर्रा गर्दै बाझो फुटाउथें र सांझ पर्न लाग्द फुकाएर गोठमा फर्काउथें अनी चु-चु-चु-चु गर्दै बानेर २ मुठा पराल हालिदिन्थें। मेरो बाबा मेरो यो सब परिवर्तन माथि अनन्तबाट नियालिरहनु भएको होला र भन्नु हुदो हो- "तं यो पुरा आधा जीवन खर्चेर के बनिस कान्छा? तेही ट्र्याकटर चलाऊने नै रहर थियो त म त्यो काला-बन्जराको फाटमा १० कठ्ठा किनेर टाटा को ३ पांग्रे उहिले किन्देको हुंदो हुं।" बाबा मलाई माफ गरिदिनुस्; म तपाईंको लायक बन्न सकिन; शायद।

यसरी अबिरल परिवर्तनहरुबाट गुज्रिए मेरा घोकाइहरु। शायद अरुको पनि यस्तै हुदो हो; तेत्ति हो -मलाई आफ्नो प्यारो लाग्छ; अरुलाई उनर्कै। शायद म नै उस्तो; कहिल्यै पनि जे घोकिरहेछु तेस्मा रमाउन सकिन हुँला; कम्तिमा तेती रमाइन जतीकी तेसैमा अबिछिन्न भुलिरहन सामर्थ्य रहोस्। शायद अध्ययन (यानी मैले भनिरहेको घोकाइ; म जहिले पनि तेसै भन्छु किनकी जे कुरा बुझेको छैन त्यो पढ्नु भनेको घोक्नु हो; बिस्तारै लत लागे पछी त्यो बुझेको जस्तो हुन्छ; जस्तैकी २+२=४ भनेर २ कक्ष्यामा म घोक्थें; अहिले बुझे झैं लाग्छ) मेरो मिल्दो कुरा हैन। तैपनी; चाहेर हो कि नचाहेर; स्वदेश्-बिदेश सबै चाहरियो- अध्ययनार्थ; यानी घोक्नका खातिर। अफसोस; अनतत: म त्यो भए "भिरको चिन्डो उधो न उभो"। तर म यो मन पराउछु। म पेन्डुलम मनपराउछ; त्यो सधैं चलिरहन्छ वा हिडिरहन्छ; तर कहिल्यै कही पुग्दैन। को नै कहाँ पुगेको छ र। जस्ले जे भनोस; जहाँ पुगे भनेर स्वोघोषणा गाह्रोस; आखिर प्रिथ्भी गोलो छ; कही पुगे भन्नु तेस्को खिलाफ हुनेछ। कही पुगे भनेर अली अझै हिंड्नुस् फेरी पुरानै ठाउँमा। अनी के फरक भयो र पेन्डुलम र त्यो कोही जो आफुलाई चलायमान सम्झन्छ। तेसैले म पेन्डुलमा मन पराउछु। यदी म मन पराउछु भने कस्को के लाग्छ। आखिर जीवन मेरो हो।


source: http://www.pendulumhealing.com/images/pendulum_sketch.gif

साच्ची! अव त अलिकती जीवन उन्को पनि हो र अर्को टुक्रा त्यो फुलको पनि हो; जो कहीं अन्कुराउनेछ। म अलिकती पेन्डुलम निकालेर अरु केही बन्न खोजिरहेछु!

Thursday, October 16, 2008

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।
Oct,9,2003
-------------------------------

सानै देखि प्राथमिक स्कुलमा घोक्न थालियो, 'दुई-दुना-चार' देखी 'सत्र-दुना-चौतिस' सम्म। राम्रा अंकहरु आए। माद्यामिक बिद्यालयमा अरु धेरै घोकियो, 'अर्घाखाँची-सन्धिखर्क' देखी 'जिम्बाब्बे-हरारे' सम्म। राम्रा स्रेणीहरु मिले। तथाकथित सफलताहरु। क्याम्पस गएं, घोकें। संगै बसेर घोक्ने दौतरिहरु भिन्न थिए। ठाउँ भिन्न थियो। पहिले सानो कोठा, गाउंको, टुकिको उज्यालो, कहिलेकाही दाई नहुँदा लाल्टिन। अहिले ठुलो कोठा, शहरको, बिजुली बत्त्तीको उज्यालो। घोकाइ आझै ससक्त बन्यो, राम्रा भनिएका अंक तालिकाहरु थपिए। धेरै प्रबेस पारीक्ष्याहरुमा घोकें, पाटन क्याम्पस देखी पुल्चोक हुँदै पिपल्स सम्म। छनौट तालिकामा अग्र पंतिमा नाम्हरु देखिए। विश्वाबिद्यालयमा पुन: घोकें। घोक्ने तरिका फरक भयो होला। प्रक्रिती फरक भयो होला। बिषयबस्तु फरक भए होलान। तर काम उही थियो। घोक्नु।

यी प्रत्यक घोकाइहरुमा मैले मेरा बर्सौं सम्मका अमुल्य समयहरु खर्च गरें, मेरो बाबाका बर्शौं सम्मका पसिनाहरु पनि। आखिर के पाएं? म जहाँ छु - के मैले मेरो बाबाको दैनिकिमा अलिकता पनि परिवर्तन दिलाउन सकें? यि मेरा भनिएका सफलताहरुले के अलिकती पनि मेरो गाउँ र मेरो घरको जीवनचर्यामा परिवर्तन धकेल्न सके? आखिर यि घोक्नुहरुका उपलब्धिहरु के? के म नघोक्नेहरु भन्दा एक औंश पनि बुध्धिमान भएं?

अबत अझ बढेमानको घोकाइ सुरु गरेको छु। बिदेशमा। के यो बिदेशी घोकाइले कुनै जादु गरिदेला? के आफ्ना सम्पूर्ण जवानीहरु खर्चेर स्वदेशमा घोक्दा नमिलेको कुनै अद्भुउत सफलता यो अंग्रेजी मिसिएको घोकाइले बोलाइदेला? के मेरा घोक्नु प्रतिका लगानिहरुको प्रतिफल नजिकिदैछ? मलाई विश्वाश छैन। यि म जे गरिरहेछु, जसरी घोक्नुमा लगानी गरिरहेछु, मेरो अ-मुल्य जीवनका अतुलनिय टुक्राहरु खर्च मात्रा गरिरहेछु, फेरी कहिल्यै उकास्न नसक्ने गरी। मलाई विश्वाश छैन, कुनै पनि हालतमा म मेरा अ-मुल्य लगानिहरुका ब्याज मात्रै पनि फर्काउन सक्ने छु।

अर्थशास्त्र भए 'sensitivity analysis' गर्थें होला, 'break-even' गर्थें होला, सावाँहरु, ब्याजहरु र नाफा-घाटाहरुमा घोत्लेर मात्रै निर्णय गर्थें होला, लगानिको। तर यो जीवन हो। काठमान्डौ हेटौंडा सुरुंगमार्ग हैन। त्यसैले म ब्याजको अन्त्यहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु, निरन्तर- निरन्तर।

Wednesday, July 9, 2008

भर्चुवल संसार

१८ नोबेम्बर, २००४।


म कहिल्यै पनि लेखक हैन। तर आजकाल झनै बढी अलेखक बनिरहेछु। म कहिल्यै पनि जेहेन्दार विद्यार्थी बन्न सकिन। थिइन। तर अचेल झनै अजेहेन्दार बनिरहेछु। म संग मेरो संसार छैन। जो संग/जहाँ तिता-मिठा दु:ख-सुखका भलाकुसरिहरु हुन सकोस। मसंग मेरो संसार छैन। जहाँ यताउता बिचरण गरेर मनमोहकता बटुल्न सकियोस। र आखिर केही नभएरै पनि; तन सुन्य, मन सुन्य, संसार सुन्य, काम काज सुन्य, राम रमाइलो सुन्य भएरै पनि दिन बितिरहने रहेछ। मलाई एउटा अनुसन्धान गर्न मन लागिरहेछ - आखिर दिनमा २४ घण्टा नै किन हुन्छ; वा के साच्चिकै प्रत्यक दिन २४ घण्टा कै हारा हारिमा हुन्छन? वा समय के हो, घण्टा भनेको कती हो, मिनेट र सेकेन्ड भनेको कती? के समय प्रिथ्भी को रफ्तार संग टासिएको छ कि मनको रफ्तारसंग गासिएको? सबै दिनहरु उत्तिकै लामा हुन्छन भने किन मलाई लागिरहन्छ कुनै दिनहरु बिकराल तन्किएका त कोही सुलुत्त चिप्लिएका? मलाई लेखा जोखा गर्न इच्छा छ कि आखिर के गरेर म मेरा अमुल्य टुक्राहरु चोइट्याइरहेछु, जीवनयात्राका, आजीवन। के यो निर्जिव मेसिनको १७ इन्च लामो पर्दा नै सम्पूर्ण जीवन हो? के गूगल, याहु, र नेपाल न्युज नै सम्पूर्ण संसार हुन? धन्य ब्याडमिन्टन प्रतिको मेरो मोहलाई - जस्ले म जिवितै छु र भौतिक संसारमा - कम्प्युटर नभएको सांच्चिको संसारमा पनि मेरो अस्थित्व छ भन्ने दर्साइदिन्छ। प्रत्यक सांझ। कंक्रिटका कोर्टहरुमा। नत्र त मेरो अस्थित्व केवल भर्चुवल मात्रै न हो। उठ्यो स्विच थिच्यो। दिनभर उही १७ इन्च भित्रका रंगी बेरंगी द्रिस्यहरु मा अल्मल्लियो। राती आँखा लोलाउन थालेपछी स्विच थिच्यो। पल्टियो। बस।

Monday, June 16, 2008

आज र भोली

सुर न तालको डाएरी
२-१-२००४
...............

अर्को एउटा महिना सुरु भयो - मेरा बिरानीहरुलाई एक महिना कम गरेर; मेरा लागि छुट्याआइएका दिनहरुलाई एक महिना कम गरेर।

किन जहिले पानी हतार - यो छिट्टो होस्; त्यो चिट्टो होस्। यो दिन आओस त्यो दिन आओस! आखिर जे सुकै दिन आओस जीवन त निख्रिदै नै जाने न हो। किन मान्छे बर्तमानमा जीवन मन पराउदैन? कि भुत प्यारो, कि भबिस्याको पर्खाइ! किन म आज संग रमाउदिन? किन अनबरत भोलिको पर्खाइ? के जीवन भोलिहरु पल्टाउदै जादा फेरी आज फेला पार्न सक्छ? के जीवन भबिस्यहरु छिचोल्दै जादा बर्तमान भेट्टाउन सक्छ? असम्भव!

तै पानी किन म आजहरुलाई छिट्टो छिट्टो लखेट्न चाहन्छु? यो राम्रो लक्षण हैन - कि प्रत्यक आजहरु नरमाइला लागुन। र त्यसमा तिमी छौ - जो मलाई जहिले पनि भोलिको प्रतिक्षा गर्न उत्प्रेरित गर्छौ। तिमी को हौ कि प्रत्यक पल म तिम्रा आशाहरुमा बिताइदिउं? म प्रत्यक पल तिमी सम्मुख हुने भोलिका आशाहरुमा बिताइदिउं? मेरो रोश छ तिमीसंग/ आँफैसंग कि किन वर्तमानलाई निन्याउरो पाउँछु - सदैव।

हो यिनै निन्याउरापनहरुमा एउटा महिना बित्यो र तिमी मेरो अलिकता नगिच बनिदिएउ। पक्कै पनि अरु महिनाहरु बित्लान, बर्षहरु बित्लान र दुरिहरु समाप्त होलान। कदाचित यस्तो नहोस् - त्यो पल पनि म भोलिका पिडाहरुमा असमन्जस बिताइदिउँ।

........